गृहपृष्ठ Featured बुटवलमा कृषि मेला

बुटवलमा कृषि मेला

बुटवल ।

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बुटवलमा मंगलबारदेखि कृषि मेला सुरु भएको छ । कृषिको व्यावसायिकरण र प्रविधि प्रयोगमा सहजीकरणका लागि भन्दै बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेलाको आयोजना गरेका हुन् ।

मेलाको ११ औं संकरणको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्र सुधारका लागि भइरहेको कृषिजन्य वस्तुको आयात प्रतिस्थापन सँगसँगै निर्यातमा जोड दिए । नेपाललाई कृषिप्रधान देश भनिए पनि कृषिजन्य वस्तुको उपभोग पनि आयातमा धानिएको बताउँदै यही अवस्था रहे मुलुकको अर्थव्यवस्था झनै खस्किने जनाए ।

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक गरी ५० स्टल समावेश गरिएको छ । यसपालि ‘प्रथम पोर्क फेस्टिबल’समेत आयोजना गरिएको छ ।

सम्बन्धित् समाचार