सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख अनिरुध कुमार श्रीवास्तवका अनुसार जिल्लाको बाणगंगा, बुद्धभूमि नगरपालिकासहित १० वटै पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।
आजदेखि यही फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी रहने जानकारी दिदैं उनले भने, ‘औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाईदै छ ।’
औषधीले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउने उनले बताए । उनले हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने बताए ।

यता बाणगंगा नगरपालिकामा नगर प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा अभियान सुरु गरिएको छ । मेयर अर्यालले विगत १४ बर्षदेखि औषधी खादाँ पनि कपिलवस्तु जिल्ला हात्ती पाईले मुक्त जिल्ला नहुनु आफैमा लज्जास्पद विषय भएको बताए ।
उनले यो पटक जसरी भए पनि कपिलवसतुलाई यस अभियानमा सफल बनाउन आवश्यक रहेको बताए । उनले हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउँदै उनले भने, ‘शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन, यसमा ढुक्क हुन्स् । त्यसैले यो औषधी खान सबैलाई अपिल गर्दछु ।’
बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा ६० जान स्वास्थ्यकर्मी र ११२ जना स्वास्थ्य स्वयंसेवीका खटिएको बताए । बाणगंगामा ७२ हजार जनसंख्यालाई हात्तिपाईले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए ।
विहिबारदेखि कपिलवस्तुसहित देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु, बाँके, दाङ, कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत र वागलुङमा सो औषधि खुवाउन थालिएको हो । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।








