बुटवल ।
लुम्बिनी प्रदेश सरकारले तीन जिल्लामा पशु वधशाला निर्माणको योजना ल्याए पनि रुपन्देही बाहेक अन्यत्र निर्माण प्रक्रिया नै सुरु हुन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा बाँके, दाङ र रुपन्देहीमा वधशाला निर्माण गर्ने उद्देश्यले बजेट छुट्याए पनि रुपन्देहीको बुटवलमा बाहेक अन्यत्र निर्माणको काम सुरु नभएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका सूचना अधिकारी शालिकराम गौतमले त्यो बेला प्रदेश सरकारले छनौट गरेका तीन वटा जिल्लामध्ये रुपन्देहीमा मात्रै वधशाला निर्माण अन्तिम चरणमा पुगेको बताए । अन्यत्र काम नै सुरु नभएको उनको भनाइ छ ।
बाँके र दाङ जिल्लामा समेत वधशाला बनाउने प्रदेश सरकारको योजना रहे पनि बाँकेको कोहलपुरमा उपयुक्त जग्गा नभएका कारण सम्झौता हुन सकेको छैन भने दाङ जिल्लामा स्थानीय तहले नै रुची नदेखाएपछि निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।
कोहलपुरमा नगरपालिकाले देखाएको जग्गा उपयुक्त पूर्वाधार नभएको पाइएपछि अर्को ठाउँमा तत्कालीन प्राविधिक टोलीले खोजी गरेको थियो । तर पछि स्थानीय तहले रुची नदेखाएपछि वधशाला निर्माण प्रक्रियाको फाइल प्रदेश सरकारले थन्क्याएर राखेको उनको भनाइ छ ।