गृहपृष्ठ Featured बार्सिलोनाले गुमायो अग्रताको मौका

बार्सिलोनाले गुमायो अग्रताको मौका

काठमाडौं ।

क्याटलान डर्बीमा कमजोर प्रदर्शन गरेको बार्सिलोना सोमबार राति स्पेनिस ला लिगामा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको स्पष्ट अग्रता लिने मौका गुमाएको छ ।

बार्सिलोनाले गोलका केही राम्रो अवसर खेर फाल्यो । पहिलो हाफमा रोनाल्ड आराउजोको प्रहार गोल लाइन कट्न पाएन । खाली पोष्टमा अराउजोले हानेको प्रहार फितलो हुँदा विस्तारै गुडेको बललाई जिरोनाका गोलकिपर पाउलो गाजानिगाले दौडदै गएर क्लियर गरिदिएका थिए ।

बराबरीपछि २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा १३ अंकले अगाडि हो । शनिबार राति साविक विजेता रियाल घरेलु मैदानमै भिल्लारियालसँग ३–२ ले पराजित भएको थियो । यस्तो अवस्थामा बार्सिलोनालाई १५ अंकको स्पष्ट अग्रता लिने अवसर थियो । तर, बार्सिलोना पनि घरेलु मैदानमा बराबरीमा रोकिएको हो ।

लिगमा अब ३० अंकको खेल बाँकी छ । जाभी हर्नान्डेजको टिम बार्सिलोना अघिल्लो खेलमा रियालसँगै ४–० ले पराजित हुँदै कोपा डेल रेको सेमिफाइनलबाट बाहिरिएको थियो । बार्सिलोना युरोपा लिगबाट पनि बाहिरिसकेको छ । बार्सिलोनाले अब उपाधि जित्ने सम्भावना भनेको लिग मात्र हो । जुन बार्सिलोनाले २०१९ पछि जित्न सकेको छैन ।

‘‘यो खेल धेरै कठिन रह्यो । उनीहरूले धेरै राम्रो खेले । हामीले पनि उनीहरूमाथि दबाब सिर्जना गर्यौँ । तर, गोल गर्न सकेनौँ,’’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘‘नतिजा दुखद छ । किनकी हामी १५ अंकको अग्रता लिन सक्थ्यौँ । तर, यो फुटबल हो । लिगको शीर्ष स्थानमा हुनुको महत्त्व हामी बुझ्छौँ । हामीले राम्रो फुटबल खेल्यौँ । गोलमात्र नभएको हो । त्यसका लागि सबै प्रयास गर्यौँ । तर, सफल भएनौँ ।’’

बार्सिलोनाले अब आइतबार गेटाफेको भ्रमण गर्नेछ । ३५ अंकसहित ११औँ स्थानमा रहेको जिरोनाले घरमा इल्चेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित् समाचार