गृहपृष्ठ Featured तानसेन नगरपालिकाद्धारा पाल्पा दरबार परिसरका घर टहरामा डोजर

तानसेन नगरपालिकाद्धारा पाल्पा दरबार परिसरका घर टहरामा डोजर

तानसेन ।

तानसेन नगरपालिका पाल्पाले दरबार संग्रहालय बाहिरका संरचना डोजर लगाएर भत्काएको छ । दरबार  संग्रहालय परिसरको पूर्व र उत्तर तर्फका पसल संचालन भइरहेका ५७ घर टहराहरू हटाउन बुधबार बहानदेखि डोजर लगाइएको छ।

३ वटा डोजर प्रयोग गरी तानसेन नगरपालिकाले दरबार परिसरमा रहेका पसल भत्काएको हो । पसल भत्काउन तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजाली,प्रवक्ता यादव सिंह कार्कीसहित जनप्रतिनिधिहरू,प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारी,नेपाल प्रहरी,सशस्त्र प्रहरी सहभागी छन्।

पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचिमा पार्न, दरबारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको कार्यवाहक नगर प्रमुख  प्रतिक्षा सिंजालीले बताइन् ।

पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ पसल, घरेलु शिल्पकला बिक्री भण्डारका  १३ वटा पसल, रेडक्रस पाल्पा शाखाका ३ वटा पसल, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३  वटा, राणाकालिन समयदेखि प्रयोग हुँदै आएका २४ वटा सटर गरी ५७ वटा सटर सरकारी जग्गा निर्माण गरी स्थानीयवासीले व्यापार व्यवसाय गर्दै आएका थिए ।

सन् २००८ देखि नै पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा राख्ने पक्रिया सुरु भएपनि हाल आएर परिसर बाहिरका घरटहरा हटाई कार्यान्वयनको चरणमा गएको  प्रवक्ता यादव सिंह कार्कीले बताए ।

दरबार परिसरभित्र प्रवेश गर्ने मुल ढोका २०६२ माघ १८ को तत्कालीन विद्रोही माओवादी आक्रमणमा क्षति भएको थियो ।

सम्बन्धित् समाचार