वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा एकल महिलाहरुका लागी २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत उक्त तालिम वडा नम्बर २ को आयोजनामा सम्पन्न भएको हो ।

तालिमको समापन गर्दै वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले तालिममा सिकेका ज्ञान, सिपलाई दैनिक व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे । उनले तालिम लिईसकेपछि सहभागिहरुमा परिवर्तन, सुधार देखिएको भन्दै खुशी व्यक्त गरे । एकलमाहिलाहरुको आवश्यकतालाई मध्येनजर गर्दै आगामी दिनमा पनि वडाले विभिन्न कार्यक्रम संचालन गरेर अघि बढ्ने वडाध्यक्ष पौडेलले प्रतिवद्धता जनाए ।
वडाध्यक्ष पौडेलले एकल महिलाहरु समाजको एक अभिन्न अंक भएकाले उनीहरुलाई अन्य सरह एकसाथ लिएर अघि बढ्नुपर्ने बताए । सो क्रममा वडादेखि नगरले नै विभिन्न लक्षित कार्यक्रममार्फत सबैलाई समेटने प्रयास गरेको वडाध्यक्ष पौडेलको भनाई छ । एकल महिलाहरुलाई समाजमा हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताए ।
समाजमा एकल महिलालाई गरिने अमानवीय व्यवहार पछिल्लो समय परिवर्तन हुदैं गएको उनले बताए । एकल महिलाहरु संगठित भएर मात्र उक्त परिवर्तन सम्भव भएको वडाध्यक्ष पौडेलको भनाई छ । उनीहरुको क्षमता अभिवृद्धि गर्न उद्घोषण तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने उनले दाबी गरे । उनले कुनै पनि विषयप्रतिको धारणा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न वाककला चाहिने बताए ।
संचारकर्मी सागर विकको संचालनमा सम्पन्न उक्त तालिमको उद्घाटन सत्रमा वडाध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता रहेको थियो भने वडासदस्य झिमलाल सापकोटाले स्वागत मन्तव्य राखेका थिए । तालिममा वडा नम्बर २ भित्रका २५ जना एकल महिलाहरुको सहभागिता रहेको थियो । तालिमको मुख्य प्रशिक्षकको रुपमा पत्रकार चन्द्रकान्त न्यौपाने रहेका थिए ।








