वैखरी अनलाईन, बुद्धभूमि ।
जिल्लाको बुद्धभूमि नगरपालिका- ५ का भूमिहीनलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गरिएको छ । शुक्रबार वडामा आयोजित एक कार्यक्रमका बीच २ सय ९२ जना भूमिहीन र सुकुम्बासीलाई निस्सा प्रदान गरिएको हो ।
मेयर केशवकुमार श्रेष्ठ, वडाध्यक्ष रोम बहादुर थापा क्षेत्री, वडा सदस्यहरु तिलक राम यादव, सुमन लोहार, आरती कोरी, जमीर मुसलमान लगायतको संयुक्त सहभागितामा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरिएको वडा सचिव निरज थापा मगरले वैखरीलाई जानकारी दिए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा प्रदान गरिएको हो । बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले अब छिट्टै लालपूर्जा वितरणको काम पनि सुरु हुने दाबी गरे । ‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ मेयर श्रेष्ठले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’
निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने उनले बताए ।
बुद्धभूमि नगरपालिका- ५ का वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले लामो समयसम्म जग्गा नपाएका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
अब जग्गा नापजाँचको कार्यलाई पनि तीव्र ढङ्गले अगाडी बढाई जति सक्दो छिटो भूमिहीनलाई भूमिपति बनाइने उनको भनाई छ । वडाध्यक्ष थापाले आफूहरूले गरेको बाचा अनुसार निस्सा वितरणसँगै लालपुर्जा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताए ।
आफ्नो सक्रियतामा वडाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई छिट्टै निस्सा वितरण गर्न सकिएको वडाध्यक्ष थापाले बताए ।
निस्सा प्राप्त गरे पछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु उत्साहित भएका थिए । एक स्थानीयले निस्सा पाएपछि खुसी व्यक्त गर्दै अव जग्गाको नाप जाँच गरि स्थायी प्रमाणपत्र पाउनेमा आफूहरू विश्वस्त रहेको बताइन् ।








