काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।
प्रमुख सचेतक परियारले निर्णयबारे जानकारी दिँदै भने, ‘पार्टी सभापतिलाई संसदीय दलको नेता चयन गर्यौं । अरु प्राविधिक रुपमा काम गर्नका लागि संसदीय कामकारबाहीलाई सजिलो बनाउन केही समितिहरु बनायौं । जस्तो विधेयक अध्ययन समिति, समसामयिक समिति, त्यस्तैगरी सचेतक हाम्रो पार्टी प्रमुख सचेतकका रूपमा म कार्यरत छु । सचेतक हुनुहुन्न थियो । माननीय निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं । हामीले निर्वाचनका पनि समीक्षा गर्यौं ।’
बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिकलगायतका समितिहरू पनि गठन गरेको छ ।








