पाल्पा ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पाको तानसेनमा बन्दै गरेको सांस्कृतिक डबली बेवारिसे बनेको छ । अनुगमन तथा नियमन गर्ने निकाय नै नभएपछि निर्माणधिन डबली बेवारिसे बनेको हो ।
पाल्पामा दुुई वर्षअघि निर्माण कार्य पुरा गरिसक्नुु पर्ने सांस्कृतिक डबली अहिलेसम्म पुरा नभएपछि सरकारको करोडौंको लगानी खेर गइरहेको छ । तत्कालीन सरकारले नुवाकोट, मकवानपुर र पाल्पामा साँस्कृतिक डबली भवन निर्माण गर्ने गरी काम अगाडि बढाएको थियो ।
लुम्बिनी प्रदेश सरकारले एक जिल्ला एक गन्तव्यको कार्यक्रम अनुरुप पर्यटक प्रवद्र्धनका लागि सांस्कृतिक डबली भवन निर्माण गरेको हो । डबली भवन निर्माणका लागि झण्डै ८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
तानसेनको पर्यटन विकासमा थप टेवा पुर्याउने उद्देश्यले विनियोजन रकममध्ये २०७८ सालको असार ७ गते निर्माण कार्य पुरा गर्ने गरी २०७६ सालको असार १५ मा ६ करोड, ७२ लाख, ५६ हजार रुपैयाँको लागतमा प्रतिष्ठा कन्ट्रसन प्रा.लि काठमाडौंले निर्माणको जिम्मेवारी पाएको थियो ।
प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्यको थालनी भए पनि अनुगमन तथा नियमन गर्ने निकाय नभएका कारण न त निर्माण कार्य पुरा भएको छ न त संरचना नै संरक्षण भएको छ । पछिल्लो समयमा प्रदेश सरकारले मन्त्रालय विभाजन गरेसँगै अनुगमन तथा नियमन गर्ने निकाय नै निस्क्रिय भएको स्थानीयको आरोप छ । अनुगमन तथा नियमन गर्ने निकाय नै निस्क्रिय भएको स्थानीय अशोक थापा बताउनुभयो ।








