योग स्वास्थ्य र यसको महत्व
कमल पौड्याल – योगाचार्य
योग प्रशिक्षक एवं उत्प्रेरक
वर्तमान समयमा योगलाई आध्यात्मिक उत्कर्षका लागि मात्र नभएर स्वस्थता प्राप्तिका लागि पनि प्रयोग गर्न थालीएको छ । वैदिक कालमा कुना कन्दरा, गुफा एवं हिमालयमा लुकेर बसेको योग आज हरेक व्यक्ति व्यक्तिको मस्तिष्कमा सकारात्मक रुपले बसेको छ । नेपाल देश योगको उत्पत्ति स्थानहो जहाँ आदियोगी शिवले पार्वतिलाई सर्वप्रथम योग शिक्षा प्रदान गर्नुभएको थियो । योग उत्पत्तिको कारण मनुष्य भित्रको दुखहो । दुख निवारणका अनेक यौगिक विधिहरु छन् जस मध्ये वर्तमान समयमा रोग निवारणका लागि वैकल्पिक चिकित्सामा योगलाई उपचारको राम्रो बिधिमानिन्छ । अष्टागं आयुर्वेद हस्पिटलएण्ड रिसर्च सेन्टरमा पनि यसै बिधिबाट बिरामीहरुको उपचार गरिदै आएको छ । सामान्य अर्थमा योग भनेको जोड्नु हो जहाँदुई पक्षलाई जोडिन्छ । शरीर र मनको जोड , आत्मा र परमात्माको जोड आदि विभिन्न परिभाषाहरु योग ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । योगको अर्थ आफ्नो चेतना वा अस्तित्वको बोध हो । यो शारीरिक,मानसिक तथा आध्यात्मिक अनुसासनहो जसले शरीर र मनलाई सकारात्मक परिवर्तन गर्दछ ।
योगको बिषयमा भगवद गितामा योग कर्मसु कौसलम् भनेर परिभाषित गरिएको छ भने पतन्जली योग सुत्रमा योगश्चित्तबृत्तिनिरोध भनेर उल्लेख गरेको पाईन्छ । जसले दैनिक रुपमा गरिने सम्पूर्ण खाले कामलाई कुशलतापूर्वक सम्पादन गर्न सक्नु र चित्तका अनेर चन्चलता वा वृत्तिहरुलाई सर्वथा निरोध गरेर आफ्नो वास्तविक रुपमा स्थित हुनु भन्ने बुझिन्छ । यसको अलावा योगका विभिन्न विद्वान, महर्षि , एवं योगीहरुले आ आफ्नै अनुभव अनुसार परिभाषित गरेको पाईन्छ ।
यौगिक भाषामा योग को अर्थ आत्मालाई परमात्मासंग जोड्नु भन्ने हुन्छ । बर्तमान बैज्ञानिक युगमा आत्मा र परमात्माको कुरा गर्दा मानिसहरुले यसलाई अन्धबिश्वास भनेर पनि भन्ने गर्दछन् । किनकी अहिले मानिस पुर्ण रुपमा भौतिकबादमा जकडि सकेको छ ।आधुनिक युगमा विज्ञानको प्रविधि संग—संगै सुख—सुविधाका पनि नयाँ—नयाँ साधनहरु आविस्कार भएको छ । कतै यी साधनहरुले हाम्रो जीवन सुगम—सुखमय बनाई राखेको छ भने कतै यसकाकारण अकर्मण्यता, आलस्य ,प्रतियोगिता एवं परिणामतः एक—आपसमा द्वेषको भावना पनि बलवती हुँदै गैराखेको छ । यहि कारणले गर्दा अधिकांस मनुष्यहरु असफलता,निराशा,हताशा, शारीरिक—मानसिक रोग , भावनात्मक असंनुलन तथा अशान्ति संग लडिरहेकाछन् । कुनै पनि मनुष्य पूर्णरुपेण सुखि र शान्त छैन । यदि गहिराईका साथ विचार गर्ने हो भने सर्वसम्मतीले एउटामात्र कारण देखिन्छ , र त्यो हो — व्यक्तित्वको विघटन । यसै कारण थोरै विपरित परिस्थितिले पनि व्यक्तिलाई उद्वेलित गरिदिन्छ र त्यसदेखि बच्नका लागि उ सहि गलतको विचार नै नगरी जे सुकै गर्नका लागि तैयार हुन्छ । यसैको परिणाम स्वरुप प्रत्यक्ष रुपमा देख्न सकिन्छ—समाज, एवं राष्ट्रमा व्याप्त विविध समस्याहरु ।
यस व्यक्तित्व विघटनको उपचारका लागि धार्मिक, दार्शनिक तथा वैज्ञानिक—प्रत्येक स्तरबाट केहि न केहि उपायगरि राखिएको छ तर प्रत्येक उपायहरु आफ्ना दायराहरुमा मात्र बाँधिएको अवस्था छ , धर्म—विज्ञान सम्म पुग्न चाहँदैन भने विज्ञान—धर्मलाई रुढीवादी मानेर त्यसको सकारात्मक प्रयासहरुलाई पनि सिधै नकारी दिन्छ , यस कारण व्यक्तित्व विकासको प्रक्रिया अबरुद्ध हुन पुगेको छ । योग एक सर्वाड्डपूर्ण प्रणाली हो, यसले व्यक्तित्वमा रहेको विघटनलाई हटाउनका लागि व्यवहारिक एवं प्रयोग सम्मत उपचार प्रस्तुत गर्दछ । योग आध्यात्मिक मात्र नभएर, पूर्णरुपेण वैज्ञानिक पनि हो । यसले व्यक्तित्वको केन्द्रको, मूल उपचारलाई प्रस्तुतगर्दछ । जबकि अन्यविज्ञान सतहसम्म मात्र पुग्दछन् ।
केहि गहिरिएर नियाल्ने र समय लगाएर खोजिगर्ने हो भने योगजीवनको अति नै महत्वपुर्ण वा भनौ जीवनसंग अनोन्याश्रीत सम्बन्ध राख्ने गहन पक्ष हो । जसले आज बिश्वसामु आफ्नो बैज्ञानिक आधार बनाएको छ । वा भनौ पुरानो प्रमाणित पक्षलाई नँयापिडिका सामु उजागर गर्देछ । जसको फलस्वरुप आज बिश्वभर बिश्वयोग दिवस मनाईन्छ ।
योग पुर्बिय दर्शनको बैज्ञानिक मार्गदर्शक हो र यसले सम्पुर्ण हिसाबले मानबिय समबेदनालाई समेट्ने गर्दछ । पुर्बिय दर्शनमा आधारित रहेर बिश्वसामु आफ्नो चौतर्फि प्रभाब फैलाउदै गएको योगको नेपालमा पनि उत्तिकै महत्व छ तर यसले प्राथमिकता पाईसकेको भने देखिदैन । योगले तनाब नियन्त्रण गरि यसबाट उत्पन्न हुने नसर्ने रोगहरु जस्तै मधुमेह,मुटुसम्बन्धि रोगहरु,जोर्नी सम्बन्धि समस्या,मोटो पना ,ब्याक पेन ,थाईराईड ,क्यान्सर लगाएत बिभिन्न प्रकारका मानसिक रोगहरु प्नि नियन्त्रण र निराकरण हुन्छ । मानसिक,सामाजिक,भौतिकएवं शारीरिक स्वास्थ्यका लागि योग प्राकृतिक औषधी नै हो । योग गर्नाले हाम्रो मस्तिष्कमा गामा एमिनो ब्युटाईरिक एसिडगाबा नामक अत्यन्तै महत्वपुर्ण न्युरोट्रन्समिटर उत्पादन हुन्छ । यसले मस्तिकलाई आनन्दमय बनाउने हुँदा हैरानी ,डिप्रेसन तनाबआदी समस्याबाट मुक्त भईन्छ । योगले मस्तिष्कमा ग्रे म्याटर को मात्रापनिबढाउछ ।
ग्रे म्याटर हाम्रो मस्तिष्कको सेरेब्रल करटेक्स र सव कर्टिकलको बिच भागमा रहेको हुन्छ । यसको कमी भएमा स्मरण शक्तीनास हुने ,तनाबबढ्ने ,संबेदनशिलतामा गडबढी आउने,टाउको दुख्ने र बोलिचाली गर्दा शब्दको उचितप्रबाह नहुने हुन्छ । योगा गर्नाले उक्त ग्रे म्याटरको मात्राबढ्न गई यि सम्पुर्ण समस्याबाट मुक्ती पाईन्छ र कुनै औषधी सेवन गरीरहनु पर्देन र औषधीको हानिकारक असरबाट छुट्कारा पाईन्छ । त्यस्तै गर्भवती महिलामा पनि हल्का तनाब र दुखाईको समस्या आउने हुनाले योगा गरेमा मस्तिष्कमा आनन्द र आराम हुनुको साथै दुखाईको समस्या समेत हलहुन्छ । मस्तिष्कमा पाईने यो ग्रे म्याटर लाई नेचुरल पेन किलर पनि भनिन्छ ।
सोंच कल्पनाशक्तिको उपजहो । जसबाट विचारको आविस्कार हुन्छ । मानव जीवनमा विचारको अत्यन्तै महत्व छ । अबको परिवर्तन विचार परिवर्तन हो । मानवीय मस्तिष्क सम्पूर्ण सम्भावनाहरुको केन्द्र हो । हामीले जुनकुरालाई प्रश्रय दिन्छौं भोलिको हाम्रो भविष्य पनि तदनुसार नै अगि बढ्दै जाने हो ।
आजको मान्छेसंग समय कम छ र जीवनका महत्वाकांक्षाहरु अधिक । साधनबढ्दै गैराखेको छ भने साधना घट्दै छ । मान्छेको शरीर फराकिलो हुदैछ भने हृदय साँधुरो । आत्मविश्वास कम र अधिकविश्वास बढी । यी सम्पूर्ण कुराहरुले मान्छे शैलीविहिन भएर जीवनको सारलाई नै रंग विनाको बनाई राखेको छ । जीवनको आनन्द होसमा हुनु मै छ । सचेत र सजगअवस्था नै जीवनबाँच्ने सुन्दर शैली हो । तसर्थ उत्कृष्ट शैली अपनाएर जीवन परिवर्तन गर्ने मार्ग नै योगको मार्ग हो ।