मैले खराब सपना देखें सधै हाँसिरहने हिमालको दाँत थिएन, रगतहरु जिस्कदै थिए माटो माथी, रातो फुल्ने गुराँस सुकेको मुस्कुराउँदै चिहानतिर देखाउँदै थियो। नदिहरु धक मान्दै थिए बग्न पनि, यता कर्णाली बेस्सरी रोइरहेथ्यो उता कोशी बेसुरले हाँस्दै थियो। अचम्म भयो ! हिजो राती मैले खराब सपना देखें। हिजो सम्म बस्नलाई गुन्द्री दिएको देशले आज जाउ भन्दै पासपोर्ट दिएको देखें। घाम पनि धुरी मात्र छोएर फर्किएथ्यो, बाटोहरुका खुट्टा लर्बराईरहेथ्ये। गौथली पनि दलिन बाट भुर्र उडेर गएथ्यो, खै कसले हो माटोको छातिमा ब्वाङ ब्वाङ हिर्काईरहेथ्यो। त्यतिनै बेला चिहानभन्दा अगाडि पलेटी कसेर पर्खिरहेथ्यो मृत्यु पनि र अर्को तिर कुर्सिमा बसेर चपाईरहेथ्ये मुनाल बस्ने घर। ओ प्रिय मनहरु!! मलाई भनिदिनुहोस न ! यो खराब सपनाको संकेतअनुसार को बढी खतरामा छ? म या देश? - बन्धु
रुपन्देही