गृहपृष्ठ कला/साहित्य कफी र ‘गजल’को संयोजन

कफी र ‘गजल’को संयोजन

प्रकाशित मिति:

कफी र ‘गजल’को संयोजन ।
गैंडाकोट, जेठ ५/ लेखराम सापकोटा

हिजोआज नवलपुर नियमितरूपमा गजलले गुन्जिन थालेको छ । सिर्जन साहित्य प्रतिष्ठान गैंडाकोटले मासिक रूपमा गर्दै आइरहेको कफी र काफियाको ९ औं शृङ्खलामा प्रस्तुत भएका युवा गजलकार जिएस पौडेल र कमल अर्यालले माहोललाई दुई घन्टासम्म तताए ।
कार्यक्रमको सुरुआतमा कमल अर्याल तीन वटा गजलको साथमा प्रस्तुत भए । उनले सबै गजललाई आफ्नै शैलीमा गुनगुनाएर सुनाए ।

जब दील र अाँखा मारामार हुन्छ
कवि हुन्छ मान्छे कलाकार हुन्छ

अब टाढा कतै धाउनु पर्ने छैन ,
तिम्रो रोगको यतै उपचार हुन्छ ।

चितवनका कमल अर्याल करिब दुई दशकदेखि गजलमा कलम चलाउँदै आएका युवा स्रस्टा हुन् । उनलेे तिमी आउनु अघि र तिमी आएपछि गरि दुई वटा गजल सङ्ग्रह बजारमा ल्याएका छन् । अर्यालका केही गजल सांगीतिक रूपमा पनि रेकर्ड भएका छन् । उनी विशेषगरी गजल बिधामै रम्ने र रमाउने स्रस्टा हुन् ।
अर्यालसँगै प्रस्तुत भएका जिएस पौडेलले पनि
गजल सुन्न जम्मा भएको माहोललाई आफ्नै बसमा पार्न कोसिस गर्दै थिए । पौडेलले प्रेममय भावमा सिर्जना गरेका शेरहरुबाट मेहफिल जमाए ।
कुरै बुझ्दिन म खै क्यारी जमाए
मुसो मार्छु भन्थे भकारी जलाए

गुनि बर खोज्दै छन् रे छोरी दिन,
हिजो मात्र जसले बुहारी जलाए ।

गैंडाकोटका स्रस्टा पौडेलले पनि गजलमा कलम चलाउन थालेको दुई दशक कटिसकेको छ । रत्नराज्य मावि भेंडाबारी तथा बालकुमारी मावि नारायणगढमा पढ्दा देखि नै उनी गजलमा होमिएका हुन् । पछिल्ला वर्ष रोजगारीको सिलसिलामा माल्दिभ्समा रहँदै आएका पौडेल छुट्टिमा घर आएका बखत यसरी कफी र काफियामा उभिएका हुन् । युगल गजल वाचनको कार्यक्रम कफी र काफियामा दुबै स्रस्टाले १०/१० गजल सुनाए । गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा वाचन भएका अधिकांश गजल शृङ्गार रसका थिए । अर्याल र पौडेल दुबैले गेयात्मक रूपमा गजल सुनाउँदा उपस्थित माहोल उनिहरुसँगै लयमा लय मिलाईरहेका थिए । कार्यक्रममा वाचन भएका गजलहरु माथी पुष्प अधिकारी अञ्जलीले टिप्पणी गरे । प्रेमिल बिषयका गजलको शब्द र भाव उत्कृष्ट छन् , अञ्जलीले भने – दुबै स्रस्टाको गायनकला आशालग्दो पनि छ । पौडेल गजल सँगसँगै आख्यानमा पनि कलम चलाउँदै आइरहेका छन् । उनको गत महिना `एक सर्को माया´ उपन्यास सार्वजनिक भएको छ । बुलबुल प्रकाशनले छापेको उपन्यासमा लागूऔषधको कुलतमा फसेको युवाको प्रेमकथा समेटिएको छ ।
सिर्जन साहित्य प्रतिष्ठान गैंडाकोटले गत वर्ष देखि शुरु गरेको कफि र काफिया नामक कार्यक्रमलाई बाहिरी जिल्लाका स्रष्टाहरुले समेत महत्त्वपूर्ण तरिकाले नियाली रहेको पाइन्छ कार्यक्रममा चितवन र नवलपरासी आसपासका स्रष्टाहरुको बाक्लो उपस्थिति समेत रहेको थियो ।

सम्बन्धित् समाचार