गृहपृष्ठ खबर पर्यटकहरुलाई ट्राभल एजेन्सीको नाममा ठगि

पर्यटकहरुलाई ट्राभल एजेन्सीको नाममा ठगि

प्रकाशित मिति:

नेपाल–भारतको सीमा बेलहिया मुलुककै सबै भन्दा बढी पर्यटक भित्रयाउने नाकाको रुपमा पहिचान बनाएको छ । स्थल मार्ग हुदै नेपाल भित्रिने पर्यटकहरुको पहिलो रोजाई नै बेलहिया नाका पर्ने गरेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेश द्धार, पोखरा, मुक्तिनाथ, मानसरोवर लगायतका स्थान जाने सहजताको लागी यो नाका पर्यटकको मूख्य रोजाईमा पर्ने गरेको छ । पर्यटकहरुको आगमन बढ्दै जादा अहिले यहा आवान्छित तत्वहरुले समेत आफ्नो पकड बढाउदै लगेका छन । पर्यटन ब्यावसायीको नाममा केही ठगहरुले पर्यटकहरुलाई ठगिको शिकार बनाउदा अहिले यो नाका मात्र हैन मुलुककै पर्यटकिय ब्यवसायमा नकारात्मक असर पर्दै गएको छ । बेलहियामा रहेको केही ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई ट्राभल एजेन्सीको नाममा ठगि गरेको खुलेको छ । सो क्षेत्रमा रहेका ट्राभल एजेन्सीहरुमा अनुगमन गर्दा दर्ता नै नभएका ट्राभल एजेन्सीहरुले पर्यटकहरुलाई ठग्ने गरेको खुलेको छ । कुनै पनि आधिकारीक निकायमा दर्ता नगरी वा अन्य शहरमा दर्ता गराई गैरकानूनी रुपमा एजेन्सी खोलेका ३ वटा ट्राभल एजेन्सीलाई अनुगमन समितिले ताला लगाएको छ । पर्यटकहरु ठगिएको गुनासो बढ्दै जादा जिल्ला अनुगमन समितिले ट्राभल एजेन्सीहरुको अनुगमन गरेको छ । अनुगमन गर्दा बेलहियामा रहेका विनचेष्टर ट्राभल एण्ड टुर्स प्राली, महाराजा ट्राभल्स एण्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एण्ड ट्राभल्समा अनुगमन समितिले ताला लगाएको हो । यि ट्राभल्स एजेन्सीहरुले पर्यटन कार्यालय, बाणिज्य कार्यालय लगायत कुनै पनि स्थानमा दर्ता गरेको पाइएन । केही एजेन्सीहरु पोखरा लगायतका स्थामा दर्ता भई अवैध रुपमा यहा पनि शाखा सञ्चालन गरि आएका थिए । बेलहियामा रहेका केही ट्राभल एजेन्सीहरुले ठगि गरेका, दर्ता बिना नै सञ्चालन गरेको एवम पर्यटकहरुलाई गुमराहमा पारी नेपाली पर्यटन क्षेत्रलाई बदनाम गरेको उजुरी बढ्दै गए पछि सो क्षेत्रमा अनुगमन गरिएको बाणिज्य कार्यालय भैरहवाका प्रमुख तथा अनुगमन समितिका संयोजक बेद प्रकाश उपाध्यायले बताए । पर्यटक आगमनको बिन्दु क्षेत्रबाट नै बिभिन्न बिचौलियाहरुले पर्यटकहरुलाई गलत सूचना दिई उनिहरुलाई अल्पत्र पार्ने, उनिहरुलाई ठग्ने गरेका छन । नेपालका बिभिन्न स्थानमा ट्रेकिङ्ग देखी होटल बुक गर्ने नाममा मोटो रकम लिई उनिहरु पर्यटकहरुलाई उक्त सेवाहरु नदिई भाग्ने गरेको उपाध्यायको भनाई छ । कमिशनको लोभमा पर्यटकहरुलाई एक एजेन्सीबाट अर्को एजेन्सीमा बिक्रि गर्ने गरेको अनुगमनको क्रममा पाईएको थियो । बेलहिया क्षेत्रमा बिचौलियाहरुको प्रभाव बढ्दै गई पर्यटकहरु ठगिदै गएको भनि ट्राभल्सहरुको संगठन नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट (नाटा)ले पनि सो निायन्त्रणको प्रयास थालेको छ । नाटाका महासचिव चन्द्र बहादुर थापाका अनुसार बेलहियामा ट्राभल ब्यवसायको नाममा अवैध रुपमा खुला रुपमा दलाल केन्द्रहरु खुलेको बताए । उनले नेपाल प्रवेश विन्दु बेलहियामै पर्यटकहरुको बाटो ढुकी पर्यटकहरु माथी जवरजस्ती र छिनाझपटी गर्ने गरेको गुनासो गरे । यस्ता एजेन्सीहरुले ट्राभल ब्यावसायकै बदनाम गरेको हुदा स्थानिय प्रशासनको सहयोगमा उनिहरुलाई नियन्त्रणमा ल्याउने प्रयास थालिएको बताए । यसको लागी नाटाले जेठ १७ गते जिल्ला प्रशासन कार्यालयलाई गुहार्दै सहयोगको याचना गरेको थियो । नेपाल भारतको सीमा नाका बेलहियाबाट स्थल मार्ग हुदै मुलुककै सबै भन्दा बढी पर्यटक भित्रिने गरेका छन । यस्ता पर्यटकहरु नेपालको प्रवेश बिन्दुमै गलत सूचना पाउदा र ठगिदा समग्र नेपालकै पर्यटन उद्योगमा नाकारात्मक असर पर्ने पक्का छ । ट्राभल एजेन्सीहरुमा गरिएको अनुगमनलाई स्थानिय ट्राभल ब्यावसायीहरुले सकारात्मक भएको बताउदै यसलाई निरन्तरता दिनु पर्ने आवाज समेत उठाएका छन । सोमबार बाणिज्य कार्यालय भैरहवाको अगुवाईमा पर्यटन कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नाटा, पर्यटक प्रहरीको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

सम्बन्धित् समाचार