गृहपृष्ठ खबर केपी ओलीको नाकैमुनि नेविसंघले तोड्यो निषेधित क्षेत्र (फोटोफिचर)

केपी ओलीको नाकैमुनि नेविसंघले तोड्यो निषेधित क्षेत्र (फोटोफिचर)

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो २ बजे नेविसंघले निषेधित क्षेत्र तोडेको हो  ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोडेको हो । व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ ।

संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । त्यही रणनीति अनुसार नेविसंघले बृहद प्रदर्शन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो ।  कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

उनिहरुले गंगामाया अधिकारी, डा. गोविन्द के.सी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनिहरुले माइतीघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए ।

सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो । यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ र प्रहरीबीच भएको सामान्य झडपमा दुई नेविसंघ कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा अर्वत खड्का र निरञ्जन थापा रहेका छन् । अर्वत खड्काको वीर अस्पतालमा उपचार भइरहेको अस्पतालमा रहेका नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

स्रोत hamrakura.com

सम्बन्धित् समाचार