तपाईलाई नेपाली चेलीको नमस्कार …।
तपाईं महान् हुनुहुन्छ डाक्टर साप किनकि तपाई लगातार २३ दिन सम्म केहि नखाई अनसन बस्दै हुनुहुन्छ नेपाली जनताका लागि । मलाई थाहा छ तपाईमा केही स्वार्थ छैन । स्वार्थ छ त केवल आम नेपालीको सुख र सुस्वास्थ्यको ।
तपाईंलाई सप्तरीको बाढिपिडित मात्रै होइन, जाजरकोटको झाडापखाला ग्रसितको मात्रै पनि होइन, जुम्लाका निमुखा जनताको पनि चिन्ता छ, आम नेपाली जनताको चिन्ता छ । हो, म बुझ्दछु तपाई चाहनु हुन्छ एउटा गरिब नेपालीको छोराछोरीले सर्वसुलभ ढंगबाट डाक्टर पढ्न पाओस् । छोराछोरी पढाउनका लागि बाउबाजेका पुख्र्याैली सम्पत्ति बेच्नु नपरोस् । जागिरेहरुले हाकिमको गाली सहँदै र सेवाग्राहीको सराप खाँदै जोडेको तिन कोठे घर बेच्नु नपरोस् । तपाई चाहनुहुन्छ नेपाल मै गुणस्तरीय कलेज स्थापना होस् र भएको कलेजको स्तर बृद्धिहोस् । हामी गरिब जनताले त तपाईलाई भगवान सरह नै मान्नुपर्छ र मानेका पनि छौं ।
देशको शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त बेथितिको अन्त्य चाहनु हुन्छ तपाईं । मेडिकल माफियाको चंगुलबाट कलेजहरुलाई उम्काउन चाहनुहुन्छ । राज्यले सुविधा सम्पन्न कलेजको व्यवस्थापन गरोस् भन्ने चाहनुहुन्छ ।
हो यी कुरा तपाईंले मात्रै चाहेको होइन, आम जनताले चाहेको यही हो । आम नेपालीले अहिलेको सरकारबाट यहि चाहन्छन् । अझ भनौं भने म त अरु थुप्रै मेडिकल कलेज खुलुन् भन्ने चाहन्छु । अनि ती कलेजहरु सुविधा सम्पन्न होउन् । अन्तराष्ट्रिय मापदण्डका होउन् । मेडिकल कलेज मात्रै होइन अरु थुप्रै विषयका कलेज खुलुन् नेपालमा । नेपाली विद्यार्थीले मात्रै होइन विश्वका धेरै विद्यार्थीको रोजाइ नेपाल बनोस् । विश्व समुदायको लागि एजुकेसन हब नेपाल बन्न सकोस् ।
तपाईंलाई थाहा होला डाक्टर साप, सन् २०१५ मा अमेरिकामा मात्रै ९६६२ जना नेपाली विद्यार्थी भर्ना भए । अमेरिकामा मात्रै होइन नेपाली विद्यार्थी भारत, बंगलादेश, युरोप, चाइना र अष्ट्रेलिया लगायतका थुप्रै देशमा गएका छन् । पचासौं हजार नेपाली पढ्न कै लागि विदेशिएका छन् स्टुडेन्ट भिसामा ।
एकपटक हिसाब गर्नुस् त डाक्टर साप, यी विदेशीएका विद्यार्थीले विदेशी विश्वविद्यालयहरुमा कति डलर भुक्तानी गर्नुपर्छ । म चाहन्छु नेपाली विद्यार्थीले यसरी डलर बुझाएर पढ्नु नपरोस् । बरु १० हजार विद्यार्थी अमेरिका पठाउनुको सट्टा ५०० जना अमेरिकन प्रोफेसरहरु नेपाल झिकाउँ । नेपालका थुप्रै ठाउँहरुमा सयौं विषयका कलेज खोलौं । नेपालको प्राकृतिक र साँस्कृतिक सुन्दरता भित्र आफ्ना विद्याथीहरु पठाउन र उनका लागि कोटा बढाउन अमेरिकी र युरोपेली एजेन्टहरुको भिड काठकाडौंमा देखियोस् । चाइनिज र अष्ट्रेलियनहरु उनका विद्यार्थीलाई प्राथमिकता दियोस् भन्दै लाम लागुन् । अनि नेपाली विश्वविद्यालयका सर्टिफिकेटको मान्यता विश्वभर अब्बल रहोस् ।
म चाहन्छु नेपालका विश्वविद्यालयमा पढ्नका लागि अन्तराष्ट्रिय स्तरमा होड बाजि चलोस् । फरक यत्ति हो डाक्टर साप, तपाईं अरु कलेज खोल्न नदिन चाहनुहुन्छ र १० बर्ष सम्म नीतिगत बन्देज लगाउन चाहनुहुन्छ । म अझै धेरै कलेजहरु खुलुन्, अझ धेरै विश्वविद्यालयहरु खुलुन् भन्ने चाहन्छु ।
आमजनताले चाहेको कुरा तपाईंले एजेण्डा बनाउनुभो । सत्याग्रह शुरु गर्नुभो । त्यो पनि एकपटक होइन पटकपटक, अहिलेसम्म त १५ पटक भैसक्यो । हामी महिलाहरु वर्ष दिनमा एकपटक एक दिन भगवानको पुजा गर्नका लागि व्रत बस्दा त राति उठेर दिनभरीकालागि डोज पुग्ने गरी खानुपर्छ तर तपाईं १५ औं पटक त्यो पनि २३ दिन वितिसक्दा पनि भोकै बस्नुभएको छ ।
मैले मात्रै होइन हामी तमाम महिलाहरुले तपाईंलाई अचम्म मान्दै हेरिरहेकाछौं । यत्रो दिन सम्म तपाईं कसरी भोकै बस्नुभएको छ, त्यो पनि अरुका लागि । हो तपाईं बृद्ध हुनुहुन्छ, तपाईंको स्वास्थ्य अवस्था कमजोर भैरहेको छ । तपाईंले उठाएका माग आम समुदायको हितमाछन् । जनताकोे पक्षमाछन् । तर पनि तपार्इंं किनभोकै बस्नुभएको छ डाक्टर साप? मैले त तपाईंमा अद्भुतशक्ति देखेको छु किनकि अरुहरु अनसनबस्दा २ दिनमा नै अनसन तोडाउन कोहि आइ दिइहाल्नुपर्छ ।
नन्द प्रसाद अधिकारीले त मृत्युबरण नै गर्नुपर्यो, गंगामायाको पनि हालतअत्यन्तै कमजोर भएको थियो । तर तपाईंको अनसन २३ औं दिन वितिसक्दा पनि ६२ वर्षे शरीरमा उर्जा देखिन्छ किन? कितपाईं देखावटि अनसनमात्रै बस्नुभएको छ ? कितपाईं मुखबन्द गरेपनि नसामा सलाइन रोपेर त्यसैबाट खाइ रहनुभएको छ ? कि डाक्टर भएर अनसनबस्दा मरिन्न? यो शंका म मामात्रै होइन म जस्ता धेरैमा छ डाक्टर साप ।
अनि तपाईंले उठाएको माग जति जायज छन् नि त्यति नै तपाईंको अभिव्यक्ति र माग पेश गर्ने अनि समाधानको बाटो पनि गलत नै छ । किनभने मैले भोट हालेर चुनेका सांसदहरुले कानुन बनाउन नपाउने ? तपाईंले भनेकै कुरा आमजनता कै पक्षमा कानुन बनाउन जनताका प्रतिनिधिले छलफलगर्न पनि नपाउने ? तपाईंले भनेका शब्दमात्रै राखेर कानुन बनाउनु पर्छ भन्ने छ ?
मैले मेरा प्रतिनिधिमार्फत् मेरा कुरा समेट्न नपाउने ? यो कस्तो प्रकृया हो डाक्टर साप? म तपाईंलाई प्रश्न गर्न चाहन्छु । सरकार वार्ता गरौं भन्छ, तपाईं वार्ता गर्न आउने मान्छेको अनुहार रोजेर बस्नुहुन्छ । तपाईं सत्याग्रह भन्नुहुन्छ, तपाईंका समर्थक ढुंगा हान्छन्, कुर्सि प्रहार गर्छन् । के यस्तो आक्रमणपनि सत्याग्रह भित्रै पर्छ र डाक्टर साप? तपाईंको पछि लाग्नेले अस्पताल बन्दगर्दा ११ महिनाको कलिलो दुधे बालकको ज्यान गुमाउनु पर्यो । यसको जिम्मेवारी पनि तपाईंले लिनुपर्छ ।
तपाईंलाई त थाहा छैन होला पुत्र वियोगको पिडा कस्तो हुन्छ भनेर किन कि तपाईंको न श्रीमति छ न छोराछोरी । ती बालककी आमालाई सोध्नुस् डाक्टर साप कत्तिको पिडा भयो भनेर ।
म चाहन्छु उनको आँसुको श्रापतपाईंलाई नलागोस् । तपाईंलाई सत्याग्रह कस्तो हुन्छ भन्ने पनि थाहा रहेनछ । सोध्नुस् अन्नाहजारेहरुलाई, गान्धिको इतिहास पढ्नुस् । अनितपाईंलाई सत्याग्रह नै गरिरहेछु भन्ने लाग्दछ भने सोध्नुस् तपाईंका अघिपछि हिड्नेलाई केके गर्यौ भनेर । कि तपाईं अनसन बस्ने अनि समर्थकहरु ढुंगाहान्ने सल्लाह नै भएको छ ? तपाईंको माग जनताको पक्षमा हुँदा हुँदै पनितपाईंलाई कसैले प्रयोग गरिरहेको पनि हुनसक्छ, विचार गर्नुस् डाक्टर साप ।
हो, मैले भोट हालेका प्रतिनिधिहरु तपाईंले जति पढेका छैनन् होला तर उनीहरुमा विवेक भने पक्कै छ । मलाई लाग्छ तपाईंको सेतो कोट भित्रका ला किराहरु झुण्डिएका पनि हुन सक्छन् । ती किराहरुले तपाईंलाई पनि डस्न सक्छन् होशियार हुनुस् डाक्टर साप । सेतोकोट लगाउने तपाईं जत्तिको महान् व्यक्तिको शरीरमा आरोप प्रत्यारोपको कालो नपोतियोस् । सुकिला कपडामा घिन लाग्दो दाग नलागोस् । मलाई थाहा छ डाक्टर साप, सेतो कपडामा लागेको दाग हत्तपत्त मेटिन्न । त्यसैले वार्ता गर्नुस् र कथित अनसन तोड्नुस् डाक्टर साप । तपाईंको माग हाम्रो पनि मागहो । कसैको गोटि बनेर होइन, आफ्नै स्वाभिमानले, आफ्नै प्रयासले अनिआफ्नै हातेमालोबाट माग पुरा गर्नुस् । धन्यवाद ।
मञ्जु नेपाल भण्डारी,
सिन्धुपाल्चोक