काठमाडाैं ।आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुने भएको हो।
चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।
शुक्रबार राति (साउन १२ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ।
चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ। ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ।