के ९ महिना कोखमा राखेर आँफैले जन्माएको सन्तानको हत्या सम्भव छ ? ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमा ले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन्। कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ।
छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन्।कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन्। तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरेका थिए।
स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरेका छन्। मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्याएको छ। तर, बुधबार साँझ उनको मृत्यु भएको छ।
अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो।कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसा समेत थिएन। उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए।
आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन। प्रहरीले उनको खोजी कार्य गरिहेका छन्।कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको थियो।