रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किनबेच : रेल बन्ने ट्रयाकमा घर बन्दै
बारा , बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किन बेच हुँन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मूल्य अकासिए पछि रेल्वेको जग्गा हेर बिचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नैं किन बेच गर्न थालेको पाईएको हो । रेल्वेकाे लिकहरूमा दैनिक जसो मेला जस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद–बिक्रीको काम हुने गरेको पाइएको छ ।
अतिक्रमित रेल्वेको कतिपय जग्गा जिल्ला स्थित नापी र मालपोत जस्ता सरकारी अड्डाबाट जग्गा दलालले कागजात मिलाइ नम्बरी बनाएर बिक्री भइरहेको पाइएको छ , भने धेरै जसो जग्गा ऐलानी बिक्री भएको पाइन्छ ।
जिल्ला स्थित मालपोत र नापी कार्यालयका प्रमुखहरूले भने आफ्नों कार्यालयबाट अहिले त्यस्तो नभएको र बिगतमा भएको भए आफूहरूलाई थाहा नभएको दाबी गरे । तर , केही समय यता जीतपुर , सिमरा , अमलेखगंज , नितनपुर , परवानीपुर लगायतका स्थानमा किन बेच बढिरहेको पाइन्छ ।
“रेल्वेको सरकारी जग्गा कतिपयले नम्बरी बनाएर बेचेका छन्,” स्थानीय किशोर लामा भन्छन्, “अहिले रेल्वेको ऐलानी जग्गा नैं गाउँ तिर पर्ने एक लाख धुर बजार तिर पर्ने पाँच लाखमा धमाधम बिक्री भइरहेको छ , तर रोक्ने कोही छैन ।”
रेल्वेको लिक सबै चोरी भएकै कारण रेल्वेको जग्गा कहाँ देखि कहाँ सम्म हो भन्ने समेत थाहा हुन छाडेको छ । जसका कारण जग्गा किन बेचमा सहज बनेको छ । प्रायः सबै ऐलानी रहेको जग्गामा जग्गा दलालहरूले खाली जग्गा बाहेक पनि भवन सहित नैं बिक्री समेत गर्ने गरेका छन् ।
मूल्य धेरै आउने भए पछि पहिल्यै घरजग्गा बनाएकाहरूले समेत घरै बिक्री गरी पुनः रेल्वे कै अन्य खाली जग्गा ओगट्न जाने गरेको लामाले बताए । बिक्री भएका जग्गाहरूमा आवासीय घरबाहेक दर्जनौं होटल , पसल , निर्माण सामग्रीका गोदाम , हार्डवेयर सञ्चालनमा छन् । समाजमा न्यून आय भएकाहरूको सहज पहुचँ पुग्ने र हटाउने अनिश्चित भए पनि तत्काल काम चल्ने उद्देश्यले रेल्वेको जग्गा खरीद गर्नेहरू भेटिन्छन् ।
मसँग नम्बरी जग्गामा घर किनेर परिवार राख्ने क्षमता नैं छैन । जीतपुरमा रेल्वेको जग्गामा काठको घर किनेका रामशरण काफ्लेले भने, “मैले रेल्वेको जग्गा किनेँ, अब ५-१० वर्षलाई ढुक्क भएँ ।” बिरगंजदेखि अमलेखगंज सम्म रेल आउने सबै लिक चोरी भइसकेको छ, भने सिमरा पथलैया अमलेखगंजका स्टेसनमा रहेका केही भवन अवशेषका रूपमा रहेका भेटिन्छन् । पथलैयाको स्टेसन व्यक्तिले कब्जा जमाएमा छन् , भने सिमरा र अमलेखगंजमा स्टेसनसँगै व्यक्तिले पक्की संरचनाको भवन निर्माण गरेको पाइन्छ ।
स्टेसन मैं पक्की भवन बनाएका एक व्यक्तिले भने, “रेल्वेले हटाउने अनिश्चित छ, फेरि हाम्रो मात्रै होइन अमलेखगंजदेखि बिरगंजसम्मको समस्या हो, सबै हटे हामी पनि हटौँला ।”
बारा जीतपुरकाे राताेपुल माथी चल्दै गरेकाे रेलकाे फाईल फाेटाे
…………………………………………………………………………..
निर्वाचनपछि स्थानीय जनप्रतिनिधीहरूको समेत रेल्वेको जग्गा खुलेआम बिक्री वितरण भइरहँदा पनि चासो रहेको पाइँदैन । सरकारले रक्सौल अमलेखगंज पाइपलाइन पनि रेल्वेको लिकबाट ल्याउन असफल हुनुमा त्यहाँ रहेको अनधिकृत बस्ती नैं कारण थियो । सरकारी अनुगमन निरन्तर नहुँदा अतिक्रमणमा परेको रेल्वेको जग्गा खाली गराउन सरकारलाई अब भने ठूलै समस्या पर्ने देखिन्छ ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले रेल्वेले हेर्नु पर्ने नहेरीदिँदा यो अवस्था आएको र अहिले त रेल्वेको जग्गामा बस्नेको हक कायम भएको जस्तो देखिएको बताए । उनले पछिल्लो समय मुलुकमा नयाँ रेल्वेको चर्चा चलिरहँदा यस्ता जग्गा आवश्यक पर्ने भए खाली गराउन स्थानीय जनप्रतिनिधि मिलेर कार्य योजना बनाएर अगाडि बढ्ने बताए ।
यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडैलले नेपाल रेल्वेको कुरा संघीय र प्रदेश सरकारको विषय भएकाले आफूहरूले केही बताउन नसक्ने धारणा राखे । उनले किनबेच र अतिक्रमण रोक्न सकिए पनि बस्ती हटाउन आफूले केही गर्न नसक्ने बताएका छन् ।