गृहपृष्ठ कला/साहित्य “छुट्टीको समय”-रोशन परियार

“छुट्टीको समय”-रोशन परियार

प्रकाशित मिति:
"छुट्टीको समय"




कामको समयमा बन्द मुटु भित्र बसेकी तिमी

जब चिया पिउने छुट्टीको घण्टी बज्छ

एक्कासि आँखाको दैलामा आइपुग्छौ

तीन मिनेटमा चिया पिउँदा

तीन सय चोटी आँखा बाट ओर्लिएर गिलासमा झर्छ्यौ

तिम्रो आँशुको चिसो थोपा मिसाएर

तातो चियाको घुट्को पिउनै पर्छ मैले




चौथो मिनेटको अन्तिम सेकेण्डमा छातीको ढोका खोलेर

पाँचौं मिनेटको पहिलो सेकेण्डमा

मुटु भित्र पसाउनै पर्छ तिमीलाई

यस्तो काम कसरी सजिलो हुन्छ भन्नु मैले

जब कि पाँच मिनेट पाइन्छ चिया पिउने छुट्टी




बिस मिनेटको खाना खाने छुट्टीमा

बिसै थरीका यादहरु

बिसै तरिकाले मुछेर

बिसै गाँसमा चपाईरहँदा




पहिलो चार गाँसमा आमा सम्झिन्छु

काँचो दाउरा नसल्केर घाँटी जल्दो हो

रित्तो भड्डु र रित्तो पेट एउटै पटुकाले कस्दी हुन्

अर्को चार गाँसमा बा सम्झिन्छु

खलेगह्राको दाँदे नार्दा फेरी लडे होला बा

ऋणको भाका नाघेर

मेरै घरको बाटो गरी बग्दै होला ब्याजको कुलो




अर्को चार गाँसमा छोरो सम्झिन्छु

गोठालामा सिन्काले भुँई खोपेर भविष्य चराउँदै होला

कक्षामा हाजिरी नपुगेर गोठालामा गयल भएको गृहकार्य गर्दै होला

अर्को चार गाँसमा छोरी सम्झिन्छु

बामे सर्दा सर्दै सिकुवाको डिलबाट आज पनि लडी कि कतै

कोक्रो हल्लाई दिने कोही नहुँदा कहाल्लिएर रुँदा रुँदा घाँटी पो सुक्यो कि

उसको अवोधपनले आगो पो समाउँछ कि

उफ ! कसरी सजिलो छ भन्नु मैले ??




अन्तिम चार गाँसमा घर सम्झिन्छु

तिनजुरेको गुराँसले यसपाली पनि पोतेन होला मेरो घरको भित्तो

टाँसेन होला यसपाली पनि कर्णालीले मूलढोका माथि दशमीको जमरा

रंगाएर निधारमा इन्द्रेणीको टीका यसपाली पनि उनिदैन होला मखमली

नाई सजिलो छ भन्नै सक्दिन म




छुट्टीको घण्टी बजे पछि

दश मिनेटमा कोठा पुगिन्छ

दशै मिनेट देशले पछ्याई रहन्छ

सेतो घामले कालो छाँया बनाई दिन्छ

कालो छाँयालाई रातो बाकसले छोप्यो भने

बिन्ती 

आमालाई त्यो बाकस खोल्न नदिनु

किनकी दुइटा लास

एउटै बाकसमा अँट्दैन।।



रोशन परियार

सम्बन्धित् समाचार