काठमाडौँ । कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित तीन जनाको डीएनए परिक्षण गर्न लागिएको छ ।
निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरू गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार क्षेत्रीले जानकारी दिएका छन् ।
डिएनए परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।
मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टसहित तीन जनाको डीएनए परिक्षण गर्न लागिएको हो।