गृहपृष्ठ पत्रपत्रिका बाट स्वाइन फ्लूबाट यसरी बचौं

स्वाइन फ्लूबाट यसरी बचौं

प्रकाशित मिति:

खरीबोट

काठमाडौँ ।  स्वाइन फ्लू एक खतरनाक भाइरस हो । यो सुँगुरको कारण फैलिने गर्छ । यो सबैभन्दा पहिला मेक्सिकोको बेराक्रुज क्षेत्रको सुँगुर फार्ममा देखिएको थियो । मुख्यतया एच१एन१, एच१एन२, एच३एन२ र एच३एन१ गरी चार प्रकारका भाइरसबाट यो रोग लाग्न सक्छ । यी सबैमध्ये एच१एन१ भाइरस सबैभन्दा खतरनाक छ । यसको सङ्क्रमण करीब दुई सय देशमा देखिएको छ । यो भाइरस सुँगुरमा पाइने जीनजस्तो भएका कारण यसलाई स्वाइन फ्लू नाम दिइएको हो ।

स्वाइन इन्फ्लुएन्जा एक सङ्क्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले सामान्यतया सुङ्गुरलाई बढी प्रभावित तुल्याउँछ । यस रोगबाट सङ्क्रमित सुङ्गुरको सम्पर्कमा आएका मानिसलाई यो रोग लाग्न सक्छ । र, उक्त सङ्क्रमित मानिसको सम्पर्कमा आएका अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ ।

यो भाइरसबाट सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, थकाइ लाग्ने, भोक कम लाग्ने, खोकी लाग्ने, घाँटी खसखसाउने हुन्छ । कसैलाई उल्टी हुने र पखाला लाग्ने पनि हुन सक्छ । यो रोगबाट ग्रस्त कतिपय मानिस पूर्ण रूपमा ठीक भएका छन् भने कतिपयको यसले ज्यानै पनि लिएको छ । त्यसैले यसबाट बच्न सतर्कता अपनाउनु अत्यन्त जरुरी छ ।

स्वाइन फ्लू साधारण अन्य मौसमी रुघाखोकी जसरी नै फैलिन्छ । विशेष गरी यो हावा र पानीको माध्यमले सर्छ । यसबाट सङ्क्रमित व्यक्तिले प्रयोग गरेको वस्तुको प्रयोगबाट पनि यो सर्न सक्छ । यसको सङ्क्रमणबाट बच्न इन्जेक्सन र नोज स्पे्र उपलब्ध छ । चिकित्सकको सल्लाह लिएर यसको प्रयोग गर्न सकिन्छ ।

यसको उपचारको लागि एन्टीभाइरल औषधि उपलब्ध छ । यसले रोगबाट हुन सक्ने खतरालाई घटाइदिन्छ । यदि प्रारम्भिक अवस्थामा नै यसको पहिचान हुन सके यसको उपचार सम्भव छ । नेपालको सन्दर्भमा यसको सङ्क्रमण भेटिए नेपाल सरकारले यसको उपचारको लागि विशेष प्रबन्ध गरेको छ ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिको सम्पर्कबाट बच्नु र आफू अनि आफ्नो वरिपरिको वातावरण स्वच्छ राख्नु नै सबैभन्दा राम्रो उपाय हो ।
यसबाट बच्न अपनाउन सकिने उपाय :

धेरै मानिसको भीडमा नबस्ने

रुघाखोकी लागेको व्यक्तिसँग टाढै बस्ने

हात नमिलाउने, अङ्गालो नमार्ने 

सङ्क्रमित क्षेत्रमा जानुपरे विशेष सतर्कता अपनाउने

सङ्क्रमित व्यक्तिको यथाशीघ्र उपचार गर्ने 

नियमित साबुन पानीले हातमुख धुने 

खोकी लाग्दा अथवा हाच्छ्युँ आउँदा सफा कपडा अथवा टिस्युले मुख, नाक छोप्ने 

प्रयोग गरिएको टिस्यु जथाभावी नफाल्ने  

आफू बस्ने ठाउँको कुनाकाप्चा र वरिपरि सफा राख्ने  

बाहिर निस्किँदा मास्क लगाउने 

सुङ्गुरको मासु खाँदा पनि यो रोग सर्न सक्छ भनेर कतिपयको जिज्ञासा हुन सक्छ । स्वस्थ सुङ्गुर छ भने त्यसको मासु राम्ररी पकाएर खान सकिन्छ । तर, मासु काट्दा, पकाउँदा स्वच्छता अपनाउनु अत्यन्त आवश्यक छ । विशेष गरी नेपालका वधशाला र मासुपसल त्यति स्वच्छ रहेको पाइँदैन । त्यसैले वधशाला, मासुपसल आदि हरेक क्षेत्रमा स्वच्छता अपनाउनै पर्छ ।

यदि कोही इन्फ्लुएन्जा ए(एच१एन१) बाट सङ्क्रमित छन् भने अन्य व्यक्तिसँग सम्पर्क गर्नमा कमी गर्नुपर्छ । घरबाहिर हिँडडुल गर्नेभन्दा पनि चिकित्सकको निगरानीमा रहनु सबैभन्दा राम्रो हुन्छ ।

यसरी अन्य प्राणीबाट मानिसमा सर्ने गरेका बर्डफ्लु, स्वाइनफ्लु, हङकङ फ्लू आदिका कारण कतिपय मानिसको मृत्यु नै भएको सन्दर्भमा बढ्दो जलवायु परिवर्तन र प्रदूषणका कारण मानिसमा पनि केही विशेष भाइरस उत्पन्न हुन सक्ने र यसले विश्वभर महामारी फैलाउन सक्ने आशङ्का चिकित्सकहरूले गरिरहेका छन् र विश्व स्वास्थ्य सङ्गठनले यसमा विशेष ध्यान दिइरहेको छ ।

सम्बन्धित् समाचार