गृहपृष्ठ खबर ज्युँदै बच्चालाई मृत्यु घोषणा गरी पोष्टमार्टम कक्षमा

ज्युँदै बच्चालाई मृत्यु घोषणा गरी पोष्टमार्टम कक्षमा

प्रकाशित मिति:

असोज ०६ । अस्पातालले ज्युँदै बच्चालाई मृत्यु भएको घोषणा गरी पोष्टमार्टम कक्षमा राखेको पाइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ज्युँदो बच्चालाई मृत घोषणा गरी पोष्टमार्टम कक्षमा लगेपछि शनिबार अस्पतालमा प्रदर्शन र तोडफोड भएको छ ।

 

गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका लागि आएका एकजना बच्चालाई ज्युँदै अवस्थामा मृत्यु भएको घोषणा गरेर पोष्टमार्टम कक्षमा राखेपछि अस्पतालमा आफन्तजनहरुले प्रदर्शन र तोडफोड गरेका हुन् ।

 

सप्तरीको रुपनी गाउँपालिका ६ निवासी अशोक साहका १८ महिने छोरा अरब साह सर्पदंशको घटनामा परेपछि गएराति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले मृतक घोषणा गरी पोष्टमार्टमा राखेको र शनिबार बिहान गाउँले महिलाहरु आएर बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको देखेपछि आफन्त र स्थानीयवासीले अस्पतालमा प्रदर्शन र तोडफोड गरेको अस्पताल श्रोतले जनाएको छ ।

 

उनीहरुको प्रदर्शनका कारण बिहानैदेखि अस्पतालको अवस्था तनावग्रस्त भएको छ । अस्पतालको आकस्मिक कक्षको सेवा समेत प्रभावित हुँदा बिरामीहरु दोहरो मारमा परेका छन् ।

 

यसैबीच जिउँदो फेला परेका बच्चालाई तत्कालै एम्बुलेन्सबाट उपचारका लागि सर्पदंश उपचार केन्द्र चोहर्बा सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता अस्पतालको अवस्था तनावग्रस्त बनेपछि अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित् समाचार