असोज ३ गते संविधान दिवसको दिन संविधानको विरोधमा मधेसवादी दलले गरेको विरोध कार्यक्रम सम्बन्धी समाचारको लिंक सामाजिक सञ्जालमा शेयर गर्ने एक कर्मचारीको जागिर गएको छ।
जिल्ला अदालत धनुषामा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत कर्मचारी गुञ्जनकुमारी रायलाई संविधान दिवसको विरोधमा भएका कार्यक्रम बारे विभिन्न वेवसाइटमा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा शेयर गरेको कारण जागिरबाट निकालिएको हो।
रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरेर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गुहार गरेकी छिन्। असोज ३ गते आफूले कम्तीमा चारदेखि पाँचवटा समाचार शेयर गरेको भएपनि ति समाचारप्रति आफ्नो विचार नराखेको रायले बताइन्।
असोज ४ गते अदालतका श्रेष्तेदार राधाकान्त झाले आफूलाई बोलाएर मौखिक रुपमा स्पष्टीकरण सोधेको र यस प्रकार संविधानका विरुद्धमा भएका क्रियाकलापको समाचार शेयर गरेर विरोधलाई समर्थन गरेको भन्दै कारबाही पर्न सक्ने बताएका थिए।