दसैं मान्न काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जाने यात्रुका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।
सरकारले गाडीभाडा बढाउने सहमति जनाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ खुला गरेको हो।
बुकिङ खुला भएपछि राजधानीका टिकट बुकिङ काउन्टरहरूमा बिहानैदेखि घुइँचो लागेको छ।
यसअघि गत शुक्रबारदेखि नै टिकट बुकिङ खुला गर्ने भनिए पनि गाडीभाडा वृद्धि, रोकिएका खाता सञ्चालन गर्नुपर्ने माग राख्दै महासंघले टिकट बुकिङ रोकेको थियो।
सोमबारदेखि गाडीभाडा १० प्रतिशत बढाउने तथा रोक्का खाता फुकुवाको प्रक्रिया पनि अघि बढाउने सहमति जनाएपछि दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाइएको महासंघका महासचिव सरोज सिटौलालले जानकारी दिए।
यातायात सिन्डिकेट अन्त्यको घोषणा गर्दै सरकारले यातायात समितिका बैंक खाता रोकेको थियो। खाता रोकिएकोमा व्यवसायीहररू रुष्ट हुँदै आएका छन्। खाता रोकिँदा आफ्ना कर्मचारीहररूले तलब खान नपाएको तथा यातायात दुर्घटना हुँदा मृत्यू हुने तथा घातेको उपचार पनि यातायात व्यवसायीले गराउन नसकेको यातायात व्यवसायीको भनाइ छ।
सरकारले यातायात सिन्डिकेट खारेज घोषणा गरे पनि व्यवहारमा भने सिन्डिकेट कायमै छ।
सरकारले यातायात व्यवसायीका सबै समिति खारेज भएको जनाएको थियो। तर, यातायात महासंघसँग नै वार्ता गरेर सरकारले भाडा बढाउने सहमति गरेको हो भने विभिन्न समितिका टिकट काउन्टरहरू पनि यथावत नै छन्।