गृहपृष्ठ खबर दसैंमा ६३ अर्बका नयाँ नोट

दसैंमा ६३ अर्बका नयाँ नोट

प्रकाशित मिति:
दसैंमा ६३ अर्बका नयाँ नोट

काठमाडौं : राष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ। यो परिमाणअनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई र २१ गतेदेखि फूलपातीको एक दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिए।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ। सर्वसाधारणले आफूलाई पायकपर्ने बैंकका नोट कोष शाखाबाट नोट सट्ही गर्न सक्नेछन्। ‘दसैंमा करिब १३ अर्ब एक सयभन्दा कम दरका तथा ५० अर्ब बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुमान गरेका छौं’, निरौलाले भने, ‘यस वर्षदेखि नोट साट्न राष्ट्र बैंक धाउनु पर्दैन।’

सर्वसाधारणलाई बिना झण्झट नयाँ नोट साट्न पहुँच पुर्याउन यस्तो व्यवस्था मिलाइएको उनले बताए। गत वर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिएको उनले जानकारी दिए। राष्ट्र बैंकका अनुसार बजारमा साना–ठूलाभन्दा मध्यमखालका २० र ५० दरका नोटको माग बढी छ।

सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका एक प्याकेटको थानमात्र साट्न सकिनेछ। एक थान वा प्याकेट नोटमा एक सयवटा नोट हुन्छन्।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ।

थापाथली बैंकिङ कार्यालयलगायत उपत्यका बाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने सुविधा मिलाएको निरौलाले जानकारी दिए। यसका साथै नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १७ वटा शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजाको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, टेकु, विशाल बजार, सानोठिमी र नक्साल शाखाबाट, नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, भक्तपुर कार्यालय र कृषि विकास बैंकका रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर, मंगलबजारलगायत शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ।

दसैंका लागि संवैधानिक निकाय, सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान अन्य संघसंस्थालगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ।

यस वर्षको दसैंका लागि राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ४८ करोड थान, १० दरका ३७ करोड थान र २० दरका २३ करोड थान नयाँ नोट बजारमा ल्याउनेछ। बजारमा ५० दरका १७ करोड थान, एक सय दरका १८ करोड थान, पाँच सय दरका २० करोड थान र हजार थानका ३६ करोड थान नोट चलन चल्तीमा छन्।

सम्बन्धित् समाचार