रुपन्देहीमा एउटा यस्तो टोल छ, जसमा करिब ३५ घरपरिवार बसोवास गर्छन् । टोलमा रहेको एक घरमा बाहेक अरु सबै घरमा सपाङ्ग छन् । तर, एउटा घरका चारजना सदस्य भने दृष्टिविहिन छन् ।
टोलमा ६ घरका सदस्यले स्नातकमाथि पढेका छन् बाँकी सबै घरमा बढीमा माध्यामिक तहसम्म पढेका सदस्य छन् । टोलका एकै परिवारका चारजना दृष्टिबिहिनहरु पनि उच्च शिक्षाको उकालो लाग्दैछन् ।
रुपन्देहीको मायादेवी गाउँपालिका–४ रमवापुरको बस्छन् उनीहरु । भैरहवा हुँदै जानुपर्छ दृष्टि विहिनहरुको घरमा । भैरहवाबाट ११ किलोमिटर हिडेपछि वेथाडी टोल आउँछ । त्यहाँबाट पनि ५ किलोमिटर अघि बढ्दा रिल्यान्स कम्पनीको फ्याक्ट्री आउँछ । त्यही नजिकै छ– चारजना दृष्टि विहिनहरुको घर ।
परिवारका सदस्यहरु विभिन्न शहरमा अध्ययनमा भएकोले उनीहरु चारैजनाको एकै साथ तस्वीर खिच्न सकिँदैन । दशैं, तिहारजस्ता पर्वमा भने उनीहरुको जमघट हुन्छ । ६० बर्षीय गोपी बानियाँको घर हो त्यो । उनले दृष्टिविहिन मालती बानियाँलाई विवाह गरेका थिए । मालती सानो छँदा आँखा देख्थिन् । तर, केही बर्ष नपुग्दै उनी पूर्णरुपमा दृष्टिविहिन भईन् ।








