“मैले छोएको आकाश”
-सविता भण्डारी
म जन्मिएको दिन
मेरी आमाको शरीरबाट रगत पोखिएपछि हो
माटोले रङ पाएको।
त्यही माटोलाई छोएर उडेका
घामका किरणले चुमेपछि हो
लालीगुराँसले मुस्कुराउन जानेको।
र
त्यही गुराँसको मुस्कानले नै पोतिएको हो
मेरो देशको झण्डामा रातो रङ,
जहाँ मेरा आँखाका नीलिमाले घेरिएका छन्
सिङ्गो चन्द्र-सूर्य।
बोधिवृक्षको छहारीमा ध्यानस्थ भई
मैले शान्ति जपेर नै हो,
साधारण वृक्ष पनि पवित्र बनेको।
म शान्तिदूत
यो माटोका प्रत्येक कणहरूमा शान्तिको पदचापहरू छोड्दै
हिँडिरहेथेँ उन्मुक्त यात्रा,
तर त्यी पदचापहरूमा मेरा निर्जीव मूर्ति ठड्याई
उडाइयो मेरो सजीव आत्मा परेवाका पखेटामा बाँधेर
आकाशतिर।
बादलको साम्राज्य भन्दा माथि
मैले छोएको आकाशमा
मेरा सपनाका आकृतिहरू सजिएका पाउँछु
बादलका थुम्काहरूमा।
र, यही आकाशबाट
जब हरेक पल्ट नियाल्छु धर्ती
देख्ने गर्छु बन्दुक बोकेर गुम्बा छिर्दै गरेको कोही।
ए महामानव,
के तिमी आविष्कार गर्न सक्छौ त्यस्तो मिसाइल?
जसले खसाउन सकोस् मैले ओच्छ्याइराखेको बादल
र
पुछियोस् बारुदको धुवाँ र रगतको टाटा
आमाको मुहारबाट।