गृहपृष्ठ खबर फरकफरक कर्म गरेर मृत्यु संस्कार

फरकफरक कर्म गरेर मृत्यु संस्कार

प्रकाशित मिति:


सर्लाहीको हरिपुरमा एकै घरका दाजुभाइले फरक-फरक शैलीमा बुवाको काजकिरिया गरेका छन्।

दुई दाजुभाईले तेह्राै‌‌‌ दिनको दिन (मंगलबार) दुई अलग ठाउँमा फरकफरक कर्म गरेर मृत्यु संस्कार गरेका हुन्।

बुवाको मृत्यु हुँदा परम्परागत रुपमा मृत्यु संस्कार गर्न अस्वीकार गरेका हरिपुर–२ का नेकपाका नेता ध्रुव कार्कीले तेह्रौ‌ दिनको दिन मन्त्रीको उपस्थितिमा बुवाको श्रद्धाञ्जली सभा गरेका छन्। श्रद्धाञ्जली सभा नेकपा सर्लाही र महोत्तरीको बर्दिबासमा रहेको आधारशिला परिवारको संयुक्त आयोजनामा भएको हो।

उनका भाई विष्णु कार्की, आमा कृष्णमाया कार्की लगायतले भने हिन्दू धर्म संस्कारअनुसार पण्डित बोलाएर परम्परागत रुपमा तेह्राै‌‌ दिनमा गरिने गाई दान, शैया दान लगायतका कर्म गरेर जुठो फुकाएका छन्।

दुई दाजुभाईले फरक–फरक शैलीमा मृत्यु संस्कार गरेपछि स्थानीयबासी पनि आफूले इच्छ्याएको कार्यक्रममा सहभागी भएका छन्। दाजुभार्इका घर करिब चार सय मिटरको फरकमा छन्। यी दाजुभाईले आ–फ्नो घरमा मृत्यु संस्कारका कर्मलाई फरकफरक ढंगले पूरा गरेकाे विषयले अहिले सर्लाहीमा व्यापक चर्चा पाएको छ।

श्रद्धाञ्जली सभामा नेकपाका स्थायी समिति सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, विश्वनाथ साह, पेशल खतिवडा, श्रवण यादव लगायतको उपस्थिति थियो।

रोचक पक्ष के छ भने, हिन्दु धर्मसंस्कारका अनुयायीहरु श्रद्धाञ्जली सभा भइरहेको ध्रुव कार्कीको घरमा गएनन्। मन्त्री पोखरेलसहितका नेता, श्रद्धाञ्जली सभाका आयोजक, नेकपाका नेता कार्यकर्ता र श्रद्धाञ्जली कार्यक्रममा सहभागी धेरै स्थानीय भने परम्परागत रुपमा मृत्यु संस्कार चलिरहेको विष्णु कार्कीको घरमा गएका थिए।

परम्परागत रूपमा बुबाको काजकिरिया नगरेको भन्दै नेता कार्कीलाई आफन्तले नै सामाजिक बहिष्कार गर्ने धम्की दिएका थिए। कार्कीलाई बरिष्कारको धम्की दिने आफन्त भने श्रद्धाञ्जली सभामा उपस्थित भएनन्।कार्की तत्कालीन माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य हुन्। कार्कीका बुबा नारायणबहादुर कार्कीको ५ असोजमा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो।

स्थानीय बागमती नदीमा दाहसंस्कारमा सहभागी दार्इ ध्रुवले त्यसपछिका मृत्यु संस्कारका कुनै पनि कर्म गर्न अस्वकार गरेका थिए। बाबुको मृत्यु संस्कार नगरेको भनेर कतिपय कार्की दाजुभाइले नै उनलाई सामाजिक बहिष्कार गर्ने धम्की समेत दिएका थिए।

 

उनीहरूले मुडुला कार्कीको कुलायन व्यवस्थापन समितिबाट कार्कीलाई निष्कासन गर्नसमेत पहल गरिरहेका छन्। तर मुडुला कार्कीको कुलायन व्यवस्थापन समिति सर्लाहीका सचिव भरत कार्की भने श्रद्धाञ्जली सभामा उपस्थिति जनाए।

श्रद्धाञ्जली सभामा सहभाभागी भएका मन्त्री पोखरेलले ध्रुव कार्कीले बुबाको मृत्यु संस्कार परम्परागत रूपमा नगरेर समाज परिवर्तनको लागि सकारात्मक योगदान गरेको भन्दै प्रशंसा गरे।

‘ध्रबजीले परम्परागत रुपमा गरिने मृत्यु संस्कार नगरेर नयाँ पुस्तालाई बैज्ञानिक संस्कार अवलम्बन गर्न उत्प्रेरित गर्नुभएको छ’, उनले भने, ‘बोझिला, रूढिवादमा आधारित संस्कार छोड्दै जानुपर्छ । उहाँले हिम्मतका साथ जे निर्णय गर्नुभयो, त्यसको सराहना गर्नुपर्छ।’

कार्यक्रममा नेकपा केन्द्रीय सल्लाहकार समितिका सदस्य पेशल खतिवडाले मृत्यु संस्कारको सुरुआत र त्यसपछि मृत्यु संस्कारमा हुँदै आएका परिवर्तनको विषयमा सविस्तार व्याख्या गरेका थिए।

‘वर्षौं अघि मृत्यु संस्कार १३ वर्षसम्म चल्थ्यो। १३ वर्षको संस्कार बोझिलो भएपछि त्यो १३ महिनामा झर्यो,’ नेता खतिवडाले भने, ‘अहिले तेह्र दिनमा किरियाकर्म र एक वर्षमा बरखी सकिन्छ। हिन्दु धर्मका पुरोहितहरु यसलाई तीन वा पाँच दिनमा झार्ने विषयमा बहस गरिरहेका छन्।’

उनले समयको परिवर्तनसँगै संस्कारहरु पनि परिवर्तन हुँदै जाने बताए। कार्यक्रममा नेता कार्कीले आफूलाई परम्परागत मृत्यु संस्कारमा विश्वास नभएकाले काजकिरियामा सहभागी नभएको बताए ।

‘मलाई परम्परागत रूपमा चल्दै आएको मृत्यु संस्कारमा विश्वास छैन,’ कार्कीले भने, ‘आफूलाई विश्वास नभएको संस्कार जबर्जस्ती गर्ने कुरो पनि भएन । यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो।’

प्रकाशित १७ असोज २०७५, बुधबार |

सम्बन्धित् समाचार