गृहपृष्ठ कला/साहित्य ल्याम्पपोस्ट – चन्द्र गुरूङ

ल्याम्पपोस्ट – चन्द्र गुरूङ

प्रकाशित मिति:

ल्याम्पपोस्ट
*********
चन्द्र गुरूङ

एउटा ल्याम्पपोस्ट
उभिएको छ गल्लीेको चुपचाप कुनामा
ऊ हेरिरहन्छ–
खाली सडकमा खेलिरहेका बच्चाहरुको खुसी
चोकमा गफ गरिरहेका भरियाहरु
पल्लोघरको बराण्डामा गृहिणीहरूको गन्थन
चियापसलमा साथीभाइको भेटघाटको उल्लास ।

ल्याम्पपोस्टमाथि अल्झेको छ
कतैबाट चुँडिएर आएको बेवारिस चंगा
जो फरफराउँछ आफ्नो दुर्भाग्य
त्यहाँ एउटा बेरोजगार चरीको गुँड छ
एउटा रंग खुइलिएको खामो छ
शिशिरयाममा पातहरु झरी गएको रुखझैँ
उजाड उभिन्छ बूढो ल्याम्पपोस्ट ।

ल्याम्पपोस्टमुनि
एउटा बौलाहा पीरव्यथाका जुम्राहरु गन्दै बस्छ
एउटा भिखारी अँध्यारो ओढ्दै सुत्छ
एउटा कुकुर घाउहरु सुमसुम्याउँदै रुन्छ
मध्यरातसम्म फतफताइरहन्छ एउटा जँड्याहा
सरकारमाथिको आक्रोश ।

यही बाटो हुँदै
हुल्याहाहरू ल्याम्पपोस्टको बल्बमाथि
ढुङ्गा बर्साउँदै जान्छन्
फुटेको आँखा जस्तो फ्युज्ड चिम बोकेर
युद्धमा घाइते सिपाहीझैँ झोक्रिन्छ ल्याम्पपोस्ट ।

वरिपरि चराचुरुङ्गी चिरबिराउँदैनन्
अलपत्र छ अनिकालमा छोडी गएको घरजस्तै
भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै
न नयाँ बल्ब फेरिएकाछन्
न नयाँ रंगरोगन गरिएको छ
ठडिएको छ बूढो ल्याम्पपोष्ट झैँ
असंख्य मनमुटुहरुमा यो देश ।

सम्बन्धित् समाचार