नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औं महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादकारूपमा देखिएको सो व्यवस्था टुंगिएसँगै संघको १२औं महाधिवेशन गर्ने बाटो खुलेको छ ।
नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भइ तीन महिना समयावधि थपिएको छ ।
कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापनइतर पक्षको उमेरसम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो ।
बैठकले संघको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाएका थिए ।
संघको संशोधित विधानबारेमा कांग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिए ।
दिउँसो ३ बजेदेखि राति झन्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमासमेत निर्णय गरेको छ ।
बैठकले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुंगोमा पुर्याइ दोषीलाई कानुनी कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।
कांग्रेसले बूढीगन्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पुँजीमै बनाउनुपर्ने माग गरेको छ ।
बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उनले जानकारी दिए ।
मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ ।
महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ