म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आइतबार पोखरा हुँदै काठमाडौँ पठाइएको छ। शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो।
हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव संकलन गरी चार खेपमा गुर्जा पुर्याउन सफल भएको थियो। घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आइतबार साँझ काठमाडौं पठाइएको पोखरा विमानस्थलमा खटिएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।
धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ। यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर संखुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुर्जा हिमाल आरोहण हुन लागेको यो पहिलो टोली थियो। वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका अन्य हिमाल आरोहण हुँदै आए पनि यो हिमालको आरोहणका लागि पहिलो पटक टोली पुगेको थियो। लामो समयपछि हिमाल आरोहणमा आएको टोली दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमग्न भएको छ। ट्रेकिङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू हिउँ आँधीमा परेको स्थानमा पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि लगभग चार घण्टा गाडी र १३ घण्टा पैदलयात्रा गर्नुपर्ने बताइएको छ।