गृहपृष्ठ पत्रपत्रिका बाट धपेडीले गलायो प्रधानमन्त्रीलाई

धपेडीले गलायो प्रधानमन्त्रीलाई

प्रकाशित मिति:

काठमाडौं १३ कार्तिक-प्रधानमन्त्री केपी ओली गत बिहीबारसम्म स्वस्थ थिए । शुक्रबारबाट उनको स्वास्थ्यमा गडबडी सुरु भएको हो । उनले शुक्रबार भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीसँग प्रधानमन्त्री निवास बालुवाटारमा लामो कुराकानी गरेका थिए ।

प्रधानमन्त्री शनिबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएनन् । ‘चिकित्सकले धेरै भीडभाड हुने स्थानमा नजान सल्लाह दिएकाले उहाँ चियापानमा सरिक नहुनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीलाई अलिक बढी भीडभाड र धपेडी हुने खालका कार्यक्रममा सकेसम्म कम गर्ने हाम्रो प्रयास हुन्छ तर बाध्यताले कतिपय कार्यक्रममा उहाँ जानुपर्ने हुन्छ ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीको धपेडी निकै थियो । विशेषगरी दसंैको कार्यक्रममा उनी व्यस्त भएका थिए । नवमीको दिन गृहजिल्ला झापा पुगे । त्यहाँ पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । भोलिपल्ट कात्तिक २ देखि दसंैको टीका कार्यक्रममा व्यस्त भए । टीकाको दिन बिहान ९:४५ देखि १० बजेसम्म उनले बाबु मोहनप्रसाद ओलीको हातबाट टीका लगाए । दिउँसो १ बजेसम्म आफ्नो सचिवालयमा रहेका व्यक्तिलाई टीका लगाइदिए । र, राष्ट्रपतिसँग टीका लगाउन शीतलनिवास गए ।
शीतलनिवासबाट फर्किंदा बालुवाटारमा उनको हातबाट टीका लगाउन आउने पार्टी कार्यकर्ता र शुभेच्छुकको भीड थियो । राष्ट्रपति कार्यालयबाट फर्केपछि उनले करिब डेढ घण्टा आराम गरे । त्यसपछि बालुवाटार आएकालाई साँझसम्म टीका लगाइदिए ।

टीका कार्यक्रम त्यत्तिकैमा सकिएन । कात्तिक ३ गते एकादशीदेखि ६ गते चतुर्दशीका दिनसम्म बालुवाटारमा बिहान ९ देखि ११ बजेसम्म टीका लगाइदिने कार्यतालिका सार्वजनिक गरियो । प्रधानमन्त्रीले विजयादशमीपछि चारै दिन टीका लगाइदिए । टीका लगाउन हेरक दिन बालुवाटारमा भीड लागेको थियो । त्यही बीचमा उनी कात्तिक ४ गते साझा यातायातको बिजुली बस उद्घाटन गर्ने कार्यक्रममा सहभागी भए । यस क्रममा उनले सयौं मानिससँग नजिकबाट संसर्ग गरे ।

प्रधानमन्त्री कार्यालयमा उनलाई प्रमुख अतिथि बनाउने र व्यक्तिगत रूपमा भेटघाट खोज्नेहरूको संख्या धेरै हुन्छ । ‘कुन कार्यक्रममा सहभागी हुने/नहुने भन्ने हामीले एक प्रकारको स्क्रिनिङ त गर्छौं तर उहाँ राजनीतिक व्यक्ति भएकाले पदीय जिम्मेवारीले गर्नैपर्ने र जानैपर्ने कार्यक्रम पनि हुन्छन्,’ प्रेस सल्लाहकार अर्यालले भने, ‘कार्यक्रम आयोजना गर्ने र भेटघाट गर्न खोज्नेहरूले पनि अलिकति विचार पुर्‍याइदिँदा सहज हुन्थ्यो ।’

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली तीन वर्षअघि फंगल इन्फेक्सनका कारण निकै थलिएका थिए । थाइल्यान्डमा लामो समय उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । त्यतिबेला उनलाई चिकित्सकले धेरै व्यक्तिसँग नजिक नबस्न सुझाएका थिए । त्यसपछि उनको निवास बालकोटमा भेट्न आउनेसँग निकै पर कुर्सी राखेर कुराकानी गर्ने व्यवस्था मिलाइएको थियो । कान्तिपुरबाट

सम्बन्धित् समाचार