अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । उक्त सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको हो।अन्तराष्ट्रिय मिडियाका अनुसार दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको मृत्यु भएको बताइएको छ ।फाराह प्रान्तबाट हेरात जाँदै गरेका सेनाका दुई हेलिकप्टर मध्ये एउटा दुर्घटनामा परेको बताएको छ।
उक्त सेनाको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको फाराह प्रान्तका गर्भनरका प्रवक्त नासर मेहरीले बताएका छन् ।यता हेलिकप्टर दुर्घटनाबारे सरकारी अधिकारीको दाबी विपरीत बिद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको जिकीर गरेको छ । एजेन्सी
काबुल कारागारनजिक आत्मघाती आक्रमण
काबुल / अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताउनुभयो । कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकूहरुले पछिल्ला महिनाहरुमा काबुलमा आत्मघाती आक्रमणमा तिब्रता दिएका छन् ।
काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिन पछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए । अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् । अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिबानका प्रतिनिधिहरुसँग कतारमा भेटवार्ता गर्नुभएको थियो ।
उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिबानका एक जना उच्च कमान्डरलाई मुक्त गरिएको थियो ।
एक जना वरिष्ट तालिबानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरुलाई मुक्त गर्न आग्रह गरिएको बताउनुभयो ।
बलात्कारका दोषीलाई अमेरिकामा सुई लगाएर मृत्युदण्ड दिइयाे
वासिङ्टन- अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदण्ड दिइएको थियो ।
अदालती सुनुवाईका क्रममा बर्गेटले आफू मृत्युदण्डको सजाय पाउन योग्य रहेको बताएका थिए । तैपनि अपिलका कारण उनको सजायमा ढिलाई भएको थियो । तर सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए । सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदण्ड सम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदण्डको सजाय हो ।
उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदण्ड दिइएको थियो । अमेरिकी सञ्चार माध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । इताजाखबरबाट