काठमाडौं,२२ कार्तिक -दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति गरेका थिए।
‘प्रज्ञा सिस्नुपानी देउसी’
हे भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
उहिले उहिले हाम्रो – बेलैमा
सत्ता ढलाउने – खेलैमा
छिनछिनमा सरकार – फेरिन्थे
दूतावास द्वारा –घेरिन्थे
टाला र टुली – गाँसिन्थे
नौ मैना नभै – मासिन्थे
दिल्लीमा गई – मुख बाउँथे
उहीँबाट पिएम – भै आउँथे
अहिले त सरकार – सग्लो छ
धरहराभन्दा – अग्लो छ
ललाट ठूलै – भाको छ
जनताको साथ – पाको छ
तै पनि कामकुरो – छिन्दैन
छिटो हिँड भन्यो – हिन्दैन।
नहिँड्या किन ? – राम जाने
के गरे हिँड्ला ? – राम जाने
राम जाने, राम जाने….
यो सरकारलाई के ले रोक्यो राम जाने
हे दुई तिहाइलाई के ले छेक्यो रामजाने ..
हामी त्यसै आएनौँ जनताले पठाए
दुई तिहाईलाई खबरदारी गर्न खटाए।
यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन।
यो सरकारको दिमाग चल्छ किन अङ्ग चल्दैन
डकारेको ग्याँसले घरको चुलोे बल्दैन।
पहिलो निसान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको ?
पाँच महिनामा प्रगतिको ठूलै ग्रन्थ निस्केको
सात महिनामा जादू हो र ? भन्दै जिस्केको।
आकाशमार्ग मोडायौ जलमार्ग जोडायौ
भारतजीको एकाधिकार झण्डै तोडायौ ?
अनिवार्य निशुल्क भर्ना अभियान चलाउँछौ
स्कूल मात्रै बोलाउँछौ कि साँच्चै पढाउँछौ ?
सुन काण्डको छानबिन टोली फास्सफुस्स सेलायो
कसलाई जोगाउनु थ्यो र सरकार लोलायो।
छानबिनमाथि छानबिनमाथि छानबिनमाथि छानबिन
निर्मलाको दोषी खोज्न बोलाऊ अनमिन।
हाम्रा देशका सन्चारमन्त्री, कति मिठो बोलेका नि लै लै
पत्रकारलाई ङ्याकेर, दिगम्बरलाई च्यापेर
लोकतन्त्रमा हिलो छ्यापेका।
सरकारैका मन्त्री बादल, गड्याङगुडुङ गर्जिन्छन् नि लै लै
असिना नि झार्दैनन्, मसिना चैँ छाड्दैनन्
ठूला माछा मार्दै मार्दैनन्।
भन भन साथी – जनता
सबैभन्दा माथि –जनता
आँगन बढार्छ –जनता
सडकमा झार्छ –जनता
घुस दिन जान्छ –जनता
भ्रष्टाचार भन्छ –जनता
मान्छेलाई ठग्छ –जनता
ढुङ्गालाई ढोग्छ –जनता
बासी भात बेच्छ –जनता
अनुगमन छेक्छ – जनता
दलालकाँ जान्छ –जनता
तीन बल्ड्याङ खान्छ –जनता
खेत बाँझो राख्छ– जनता
चाउचाउ ताक्छ – जनता
नदीनाला मिच्छ –जनता
छोरी चेली बेच्छ–जनता
रक्सीमा बिक्छ – जनता
कर छल्न सिक्छ – जनता
झाँक्री भई काम्छ – जनता
बोक्सी भन्दै डाम्छ–जनता
दाइजो फलाउँछ– जनता
बुहारी जलाउँछ –जनता
तीनमहिना दर खान्छ –जनता
मोटाउन डर मान्छ –जनता
देश छोडी भाग्छ –जनता
फेसबुकमा जाग्छ –जनता
ऐनामा हेरौँ –जनता
ऐनामा हेरौँ –जनता
आफैँलाई फेरौँ –जनता
आफैँलाई फेरौँ –जनता।।
भिडियो हेर्नुहोस्
बालुवाटार छिर्छन् मन्त्री जोश बोकेर जुरुक्क
फर्की आउँदा पर्छन् तिनै किन लुरुक्क ?
केही गर्न खोज्छन् मन्त्री सल्लाहकारले छेक्छन् रे
पिएम एक्लै समृद्धिको सपना देख्छन् रे।
उड्डयन र पर्यटन श्रमको क्षेत्र सुध्रियो
भौतिक तथा यातायात ह्वाङ्गै उध्रियो।
फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर
गियर हो कि फेर्न खोज्या पिएम चियर?
ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार मच्चियो
घरबेटीले थर्काएछन् आफैँ थच्चियो।
केसी अनशन बस्नाले कांग्रेसले पायो काम
तिनले जुस खाएपछि कांग्रेस ठण्डाराम।
कसले भन्छ काँग्रेस हार्यो कम्निस्ट भन्दा कडा छ
रुखका ठुटा भन्दा धेरै गुट खडा छ।
के हे¥या थे चुनाउमा काँग्रेस पार्टी बगुन्जेल
काँग्रेस रहला नरहला देउवा रहुन्जेल।
ल्याङल्याङ गर्दै बिन्ति गर्छन् माधव र झलनाथ
हाम्रो पालो आउँछ आउन्न भन्देऊ भोलेनाथ।
देखाउन खोज्या थे रामवीर कमरेड दानवीर भै
वामदेवलाई हरियो काँक्रो कसले देला खोई ?
अख्तियारले पप्पुलाई एक झप्पु हानेछ
राष्ट्र बैंकले उसैलाई ठेकदार छानेछ।
न्वारान को भोज गर्न पार्टी प्यालेस पाइएन
बालुवाटारमै पाइने भयो अन्त चाहिएन।
राष्ट्रसेवक कर्मचारी, देश्का हुन् कि पा र्टी का नि लै लै
सरुवा–बढुवा रुङ्दछन् काममा भने उङ्दछन्
आफ्नै माऊलाई आफैँ ठुङ्दछन्।
संविधान दिवसैमा, तक्मा–बाँड्ने के सै मा नि लै लै
स्यालले पदक भिरेका, छेपारा नि छिरेका
मुसुमुसु हाँस्दै फिरेका।
भन भन साथी हो– बिचरा
कठै बरा – बिचरा
नेकपा बैठक – विचरा
कांग्रेसको विधान– विचरा
संघीयता –बिचरा
प्रदेश सरकार –बिचरा
प्रदेश राजधानी –विचरा
प्रदेश प्रमुख – विचरा
पुनर निर्माण –बिचरा
स्मार्ट लाइसेन्स –बिचरा
शेरबहादुर तामाङ –बिचरा
सर्वेन्द्र खनाल – बिचरा
नारायण काजी –बिचरा
लालबाबु पण्डित– बिचरा
बाबुराम भट्टराई – बिचरा
रामचन्द्र पौडेल–बिचरा।
टिभी वरिपरि घुम्छन् सन्चारकर्मी धमला
केपी वरिपरि घुम्छिन् ओली कोमल।
जति धेरै जन्म मिति उति योग्य न्यायधीश
नेपालको न्यायालय टाँय टाँय फिस।
आइएनजिओ नेपालमा विश्लेषक पाल्दछन्
आगो बाल्छन् द्वन्द्वको घिऊ हाल्दछन्।
हाम्रा ठूला मिडिया विदेशीका गुडिया
फस्ने हुन् कि मछली तिनकै ढडिया।
हेर्दा हेर्दै सिंहदरबार आयोे हाम्रो ठाउँमा
दरवार सँगै राजा – रानी आए गाउँमा।
वडा अध्यक्ष पनि उही डोजर पनि उसैको
डाँडाकाँडा चिरा पारे बजेट भुसै भो।
मोबाइल किन्छन् गाडी किन्छन् ठेक्कापट्टा मिलाउँछन्
आफूलार्ई तलवभत्ता आफैँं दिलाउँछन्।
कर माथि भ्याट लाग्छ भ्याटमाथि कर लाग्छ
निन्द्रामा नि कर लाग्ला कि भन्ने डर लाग्छ।
बिहे नवीकरण गराऊ वर्षैपिच्छे कर लगाऊ
जनता हो कर नतिरी हात नबढाऊ।
विद्याजीको महानगरमा फोहोरको डंगुर
पर्यटकलाई निषेध गरौँ पालौँ बङ्गुर।
कस्तो शान्त सुन्दर, काठमाण्डौ शहर
विद्यासुन्दर व्युँझेलान् हल्ला नगर।
हाम्रा मधेशवादी नेता, संविधानलाई कालो भन्छन् नि लै लै
कति–साह्रो ज्ञानी त्यै संविधान मानी
मन्त्री खान्छन् छानी छानी।
सर्वहारा सरकारैले, हाम्रो दुःख देखेको नि लै लै
जनपक्षी बनेर ठण्डी लाग्ला भनेर
महंगीले ढाडै सेकेको।
आशिष
एम्बुलेन्स जाममा नपरोस्, जुवाडे झ्यालबाट नझरोस्
टिको थाप्दा लम्पसार पर्नु नपरोस्।
सरकारले विरोध पचाओस् आफूलाई पाँच वर्ष बचाओस्
ढिला सुस्ती गर्ने अङ्ग छिटो जँचाओस्।
मार्सी खुवाउने खेत नहोस् एरपोर्टमा भिसी भेट नहोस्
नेकपाको एकता चङ्गा चेट् नहोस्।
किला ठोकी सडकमा बलात्कारी बाँधियोस्
भोटे कुकुर छाडेजस्तो टिपर छाडियोस्।
अहिले नगरे कहिले तिमीले नगरे कसले
इन्धन आयात घटाउला त यौटो बिजुली बसले?
डाँडा काँडा काटो सेनाले बनायो बाटो
यस्तै कर्म गरोस् सधैं व्यापारको साटो।
सत्यमोहनझैं शक्ति होस्, राष्ट्र कविझैं आयु होस्
वागमती झैँ सफाइ होस्, स्वच्छ वायु होस्।
हावाबाट बिजुली पाइपबाट ग्याँस आउला
भाइबर बाट दालभात खाउँला झ्याप्प निदाउँला।
निजगढ एयरपोर्ट झरौँला, फास्ट ट्रयाकभित्र छिरौँला
मेची पुगी महाकाली आजै फिरौँला।
पर्ख पर्ख मयालु म पनि त आउँला
चुच्चे रेलमा चढाएर रारा घुमाउँला।
भन्ने दिन आएसि तिम्रो भर परौँला
चन्द्र सूर्य झण्डा बोकी जयजय गरौँला।