प्रदेश ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्माण व्यवसायीको मुख्य रोग भनेको एउटाको नाम अर्काको काम रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश ५ को प्रथम साधारणसभा तथा अधिवेशनको दाङको घोराहीमा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले एउटा निर्माण कम्पनीले ठेक्का लिने र अर्कैले काम गर्ने गरेका कारण गुणस्तरीय निर्माण काम हुन नसकेको भन्दै यो संस्कार अन्त्य गर्न आवश्यक रहेको बताए।
मुख्यमन्त्री पोखरेलले विवादमा रहेको पप्पु कन्ट्रक्सनको उदाहरण दिँदै एउटाको नाममा टेण्डर लिने र अर्कै निर्माण कम्पनीले काम गर्ने गरेको बताएका हुन् । यसको अन्त्य गर्न सकेमा निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तहीनताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे। निर्माण कम्पनीहरूको सानो लापरवाहीले देशले ठूलो आर्थिक नोक्सान बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । साथै उनले निर्माण व्यवसायीलाई जिम्मेवार भएर निर्माणका काम गर्न निर्देशन पनि दिए ।
प्रदेश ५ का अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले निर्माणसम्बन्धी ऐनहरू संशोधन गर्न सरकारलाई अनुरोध गरे। उनले निर्माणको काममा ढिलाई हुनु, गुणस्तरीय नहुनुमा निर्माण कम्पनीमात्र दोषी नभई कर्मचारीहरू पनि दोषी रहेको बताए ।