गृहपृष्ठ अन्तरास्ट्रिय खबर कतारले ओपेकको सदस्यता त्याग्ने

कतारले ओपेकको सदस्यता त्याग्ने

प्रकाशित मिति:

दोहा, १७ मङ्सिर-खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।”

उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

“हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,” मन्त्री साद अल–काबीले भने।

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ । रासस\एएफपी

 

सम्बन्धित् समाचार