कोलम्बो / श्रीलङ्कामा आएको अधिक बर्षा र बाढीका कारण ६० हजार भन्दा बढी प्रभावित भएका छन् ।देशको उत्तरी क्षेत्रमा बर्षापछि आएको बाढीले धेरैलाई विस्थापित समेत गराएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले सोमबार जनाएका छन् ।प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरुको भनाई छ ।सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।
बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ ।खोजी तथा उद्धारमा खटिएका अधिकारीहरुले अहिले सम्म कुनै मानवीय क्षति तथा घाइते भएको खबर नआएको बताएका छन् ।राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्देशनपछि सेना तथा प्रहरीलाई उद्धार तथा राहत वितरणका लागि घटनास्थलमा खटाइएको छ ।प्रभावितहरुलाई पर्याप्त राहत तथा सहयोग प्रदान गर्न कुनै कन्जुस्याई नगर्न पनि राष्ट्रपति सिरिसेनाले निर्देशन दिनुभएको छ ।
प्रकोप व्यवस्थापन अधिकारीहरूले भने बाढीका कारण भौतीक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेकाले विवरण सङ्कलन भएपछि उनीहरूलाई दिने राहत तथा क्षतिपूर्तीको व्यवस्था गरिने बताएका छन् ।