गृहपृष्ठ खबर कपिलवस्तुमा आफ्नै अटोरिक्साले लियो एककाे ज्यान

कपिलवस्तुमा आफ्नै अटोरिक्साले लियो एककाे ज्यान

प्रकाशित मिति:

आफैले चलाएको अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको मृत्यु भएको छ । घटना शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा भएको हो । लु१ ह ६५४ नम्बरको अटोरिक्साले किचेर ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
छारे (मृगी) रोगका बिरामी रहेका नेपाली मध्यरात श्रीमतीसहित झारफुकका लागि अटोरिक्सा चलाएर हल्लानगर पुगेका थिए । झारफुकपछि फर्किंदै गर्दा आफैंले चलाएको अटोरिक्साबाट उनी खसे । एक्कासी छारे (मृगी) आएपछि गुडिरहेको अटोरिक्साबाट खस्दा पछाडिको चक्काले उनलाई किचेको थियो । अटोरिक्सामा उनकी आफ्नै श्रीमती सन्तोषी नेपाली बसेकी थिइन् । चालकविना अटोरिक्सा अनियन्त्रित भई केही अगाडि बाटो छेउ थुपारेको परालमा अल्झिएर रोकिएको थियो, श्रीमतीको भनाईलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
दुर्घटनामा श्रीमती सन्तोषी भने सकुशल छिन् । दुर्घटना मंगलबार बिहान साढे २ बजेको हो । दुर्घटनालगत्तै श्रीमती रुन कराउन थालेपछि स्थानीय उठेर तुरुन्तै प्रहरीलाई खबर गरे । स्थानीयको खबरले तत्काल वडा प्रहरी कार्यालय चन्द्रौटाका टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रहरी सहायक निरीक्षक रामशरण कुमालसहितको टोली घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते नेपालीलाई उपचारका लागि चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पताल पु¥याइएको थियो । तर चेकजाँच गर्दा नेपालीको ज्यान गइसकेको थियो, उपचारमा संलग्न चिकित्सकले घोषण गरे । मृतक नेपालीको शव पोष्टमार्टमका लागि बिहान ४ बजे नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो ।
मृतक नेपालीको स्थायी घर ढाकाबाङ्ग ६, अर्घाखाँची हो । उनी केही वर्षदेखि कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा डेरा लिएर परिवारसहित बस्दै आएका थिए । उनी अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।

सम्बन्धित् समाचार