गृहपृष्ठ राजनीति डाक्टर केसीलाई कानुनी सर्वोच्चता स्वीकार्न प्रधानमन्त्रीको आग्रह

डाक्टर केसीलाई कानुनी सर्वोच्चता स्वीकार्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उहाँले लोकतन्त्रमा कुनै पनि व्यक्ति विशेष सर्वोपरी हुन नसक्ने भन्दै कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको हो ।  सांसद गगन थापाले सरकारले डाक्टर केसीसँग गरेको सम्झौता विपरित हुने गरी संसदीय समितिले प्रतिवेदन पेस गरेको भन्दै प्रधानमन्त्रीले चाहाना राखे पूर्व सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास हुने थियो भन्ने जिशासामा प्रधानामन्त्रीले संसदको सर्वोच्चता र कानुनको सर्वोच्चतालाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले संसद र संसदीय सर्वोच्चताको आफूले सम्मान गर्ने भन्दै सरकारले संसदलाई निर्देशन दिन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने सार्वभौम संसद र यसको सार्वभौमिकता, संसदको अधिकार संसदको सर्वोच्चताप्रति,सार्वभौम नागरिकको अधिकारको सार्वभौम प्रयोकर्ताको हैसियतप्रति, संसदको विधि निर्माणमा स्वतन्त्र हैसियत प्रति म नतमस्तक छु र सम्मान गर्छु ।’
उहाँले डाक्टर केसीको अनसन नै सर्वोपरि हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले डाक्टर केसीसँग सरकारले गरेको सम्झौता सत्य निरुपण नभई तात्कालीन परिस्थितिको उपज र आवश्यकताको सम्झौता मात्रै भएको र त्यसप्रति सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीको बहुमत छ, को अर्थ संसदको सर्वोच्चता प्रति प्रधानमन्त्री वा सरकार, फेरि बहुमत छ भनेका भरमा संसदीय सर्वोच्चता, यस सर्वोच्च निकायको मर्यादा र गरिमालाई थिचोमिचो गर्न सक्दैन । मेरो आग्रह छ सरकारले गरेको सहमति संसदले कार्यान्वयन गरिदेओस् । तर म आदेश दिन सक्दिन । संसदको आदेश पालना गर्छु ।
उहाँले डाक्टर केसीसँग भएको सम्झौता अनुसार नै सरकारले संसदमा विधेयक पेश गरेको बताए पनि सरकारले गरेको सम्झौता अनुसार नै विधेयक पास गर्ने रनगर्ने सर्वोच्चता संसदसँग मात्रै रहेको र त्यसैलाई आफूले स्वीकार गर्ने बताउनुभयो ।

सरकारले जे ल्यायो त्यो पास गर्नु विधिसम्मत नहुने भन्दै विधि निर्माणको सवालमा संसदलाई बाध्यपार्न र गुमराहमा धकेल्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

कानूनी राजको सिद्धान्तलाई हरेकले मान्नुपर्ने भन्दै उहाँले कानूनभन्दा माथि कोही पनि नहुने र सबै कुरा कानुन अनुसार हुने स्पष्ट पार्नुभयो । कसैले पनि आफूलाई सर्वोपरी नसम्झिन पनि उहाँले चेतावनी दिनुभयो ।

सांसद थापाले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा संसदीय समितिले तयार पारेको प्रतिवेदनमा ९५ प्रतिशत माग पूरा भैसक्यो भन्ने कुतर्कमा नअलमलिई सरकारले डाक्टर केसीसँग गरेको सम्झौता हुबहु हुने गरी पारित गराउन प्रधानमन्त्रीले चाहना मात्रै राखे संसदले सजिलै त्यो काम गर्न सक्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वय गरी संस्था प्रतिको विश्वासलाई जोगाउने वा यो विश्वासलाई ढल्न दिने रु भनेर प्रश्न गर्नुभएको थियोे ।

सम्बन्धित् समाचार