२०६२/२०६३ सालको जनआन्दोलन पछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही लागू गरेको एकीकृत सम्पत्ति कर ऐन पछि हालसम्म पूर्वराजा शाहको चियाबगानले ५ करोड २९ लाख ९९ हजार ४ सय ४५ रुपैयाँ बराबरको सम्पत्ति कर तिर्न बाँकी रहेको नगरपालिकाका राजश्व शाखाका प्रमुख टिका दाहालले जानकारी दिए।
समयमा सम्पत्ति कर नबुझाउँदा जरिवाना बापत नै १ करोड ३१ लाख ९९ हजार ९ सय २८ रुपैयाँ पुगेको दाहालको भनाई छ। नगरपालिकाले ५ करोडसम्मको सम्पत्तिलाई वार्षिक ६६ हजार र सो भन्दा माथिको सम्पत्तिमा प्रतिहजार २ रुपैयाँको दरले थप सम्पत्ति कर लिने गरेको करशाखाका हिमाल सिग्देलले जानकारी दिए।
दमक नगरपालिकाको वार्ड नम्बर ९ र ४ मा ५ सय ७५ बिघा १७ कट्ठा १४ धुरमा चिया बगान रहेको छ। नम्बरी बाहेक नै चियाबगानले २ सय बिघा भन्दा बढी ऐलानी जग्गा ओगटेको छ। नगरपालिकाले गठन गरेको मुल्यांकन समितीले जम्मा ३ अर्ब २६ करोड २७ लाख ३६ हजार १ सय ७१ रुपैयाँ बराबर जग्गाको सम्पत्ति मुल्यांकन गरेको छ। जग्गाको सम्पत्ति मुल्यांकन गरिए पनि त्यहा भित्र रहेका भौतिक संरचनाको भने नगरपालिकासँग कुनै लगत छैन।
बगान प्रशासन स्वयम आएर त्यहाँ भएका भौतिक संरचना तथा जग्गाको विवरण उपलब्ध गराउनुपर्ने भएपनि विवरण उपलब्ध नगराएको नगरपालिकाले जनाएको छ। बगानभित्र पूर्व राजपरिवार भ्रमणमा आउँदा बसोबास गर्ने दरबारका अतिरिक्त अन्य अतिथिहरु समेत बस्ने घर रहेका छन्।
ती सबै भौतिक संरचनाको तथ्यांक न त नगरपालिकासँग छ न त बगानले नै नगरपालिकालाई उपलब्ध गराएको छ। भौतिक संरचनाको लगत नभए पनि बगान रहेको जग्गाको नगरपालिकाले २०६५ सालमा मालपोत कार्यालयको ढड्डाबाट प्रमाणित गरी नगरपालिकाको राजश्व फाँटमा दर्ता गरेको शाखा प्रमुख दाहालले जानकारी दिए।
मालपोत कार्यालय दमकका अनुसार पूर्वराजा शाहको १५ कित्तामा गरेर जग्गा दर्ता भएको छ। जस्मा कित्ता नम्बर ६२, ३२९, ३३०, ३३१, ३३२, ४०६, ४०७, ४२७, ४७२, ४७३ , ४७४ , ५८३ , ७२९५, ७२९७ र ७३७५ नम्बरका १५ वटा कित्ताहरु दर्ता रहेका छन् ।
यता बगानका महाप्रबन्धक शिव आचार्यले भने बगानले कर तिर्न चाहेको प्रष्ट पारे। उनले बगानले कर तिर्न खोजे पनि नगरपालिकाले एकलौटी ढंगबाट सम्पत्तिको मुल्यांकन गरी कर तोकेको आरोप लगाए। सम्पत्ति कर ऐन लागू हुनुभन्दा अगाडि बगानले मालपोत बापत वार्षिक ४५ हजार तिरो तिर्दै आए पनि त्यसपछि नगरपालिकाले मनखुशी कर बढाए पछि कर तिर्न छोडिएको महाप्रबन्धक आचार्यले बताए।
बगान कृषियोग्य जमिन अन्र्तगत पर्ने भएकोले सरकारले झन अनुदान दिनुपर्नेमा अनावश्यक कर थोपरेको दाबी गरे। आचार्यले भने, ‘नगरपालिकाले आफू खुशी कर बढाएको छ। यो हामीलाई मान्य छैन। हामीले पनि पटकपटक कर घटाउन माग गरे पनि नगरपालिकाले सुनेको नसुनै गर्छ।’
आर्चायले अन्य चियाबगानले समेत अहिलेसम्म राज्यलाई सम्पत्ति कर नतिरेको दाबी गरे। उनले भने, ‘झापाका अन्य चियाबगान पनि छन् तर उनीहरु पनि कुनै न कुनै नगरपालिका भित्रै संचालन भइरहेका छन्। उनीहरुलाई स्थानीय तहले कर लिदैन।
हामीलाई चाहीँ किन यसो गरिन्छ। मैले कुरा बुझ्न सकेको छैन।’नगरपालिकालाई कर तिर्न बगान प्रशासन तयार रहे पनि करका विषयमा नगरपालिकाले हेर्नुपर्ने बताए। आफूहरुले नगरपालिका समक्ष वार्षिक १ लाख रुपैयाँ तिर्ने बताए पनि नगरपालिकाले नमानेको उनको भनाई छ।
बाहिर आएजस्तो विद्युत तथा खानेपानीको समेत पैसा नतिरेको हल्ला निराधार रहेको उनको भनाई छ। बगानभित्र खानेपानीको आफ्नै स्रोत रहेको उनले बताए। विद्युत महशुल पनि नियमित रुपमा तिरीरहेको आचार्यको दाबी छ। राजश्व शाखाका प्रमुख दाहालले कृषि उद्योगलाई सहुलियत रहेको दाबी गरे। ‘हामीले हाम्रो तर्फबाट गरिएको सम्पत्तिको मूल्यांकन अनुसार कर लगाएका हौं, ‘दाहालले भने, ‘तर बगान प्रशासनले यकीन सम्पत्तिको लागत भने उपलब्ध गराएको छैन।’
२०७२ सालमा तत्कालिन नगर अधिकृत युवराज दाहाल नेतृत्व सहित १२ दल सँगको छलफलमा पूर्वराजाले करका विषयमा छलफल गरेका थिए। त्यतिबेला नगरपालिकाले बगानमा रहेको केही ऐलानी जग्गा नगरपालिकालाई उपलब्ध गराए कर मिनाह गर्ने समेत प्रस्ताव समेत गरेको आचार्यले बताए।
पूर्वराजाले त्यतिबेला नगरपालिकालाई कर तिर्न बगान प्रशासनलाई निर्देशन समेत दिएका थिए। पूर्वराजाले नगरपालिकाको कर तिर्ने विषयमा आफू सकरात्मक रहेको बताएका थिए। पूर्वराजाको भनाई उधृत गर्दै आचार्यले करको विषयलाई लिएर नगरपालिका र बगानबीचको सम्बन्धमा कुनै चिसोपन आउन नहुनेमा जोड दिएको बताए।
तर हालसम्म पनि कर भने तिरिएको छैन। करको विवाद भइरहेका बेला पूर्वराजा शाह फेरि माघ २० गते बगान आउँदैछन्। उनी बगानभित्र रहेको दरबारमा करिब एक महिनासम्म बस्न सक्ने उनका स्वकीय सचिव सागर तिम्सिनाले बताए।
यहि बेलामा पूर्वराजासँग करका विषयमा कुरा उठाउन स्थानीयले माग गरेका छन्। दमक नगरपालिकाले भने करको विषयमा खासै चासो देखाएको छैन। पूर्वराजाको चिया बगानले कर तिर्न आलटाल गरिरहेको बेला नगरपालिकाले के गर्दैछ भन्ने प्रश्नमा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पटक पटक ताकेता गरे पनि तिर्ने छाँट नदेखिएकोले कुनै प्रक्रिया अघि नबढाइएको बताए।
बगानले कर नतिरेको बिषयमा प्रमुख राजनीतिक दल सहित पूर्वराजाले समेत छलफल गर्दा सकरात्मक कुरा भए पनि हाल सम्म नतिरिएको ओलीले बताए।
बगान लिजमा
नम्बरी जग्गा र ऐलानी गरी ७ सय बिघा भन्दा बढी क्षेत्रफलमा फैलिएको यस चिया बगान घाटामा संचालन भइरहेको संचालक समितिको दाबी छ। यसरी वर्षेनी घाटामा गएपछि बगान लिजमा दिइएको छ। लिजमा दिन लिखित संझौता भइनसके पनि मौखिक संझौता भइसकेको छ।
बगान आसमको टोलीले लिजमा लिएको महाप्रबन्धक आचार्यले बताए। उनले माथि बाटै संझौता भएकोले यसका विषयमा आफूलाई थप जानकारी नरहेको बताए। आसामको टोलीले अहिले बगानमा काम सुरु गरिसकेको छ। नयाँ टोलीले काम सुरु गरेसँगै आचार्य राजिनामा दिन भनेर राजधानी पुगेका छन्।
बगानमा हाल ५ सयभन्दा बढी मजदुर कार्यरत छन्। पारश्रमिक नपाएको भन्दै चिया बगानका मजदुरले आन्दोलन समेत गर्दै आएका छन्। पूर्वराजा ज्ञानेन्द्रका काका हिमालय विक्रम शाहको नाममा तत्कालीन राजा महेन्द्रले २०१८ मा शिलान्यास गरेको चिया बगानको नाम पञ्चायत रहुन्जेल ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’ थियो। दमकका ४ र ९ नम्बर वडामा रहेको चियाबगानको नाम पञ्चायतको समाप्ति पछि हिमालय गुडरिक नामांकरण गरिएको थियो।
अहिले भने हिमालय महालक्ष्मी चिया बगान प्रा.लि. राखिएको छ। पूर्वराज परिवार अहिले पनि पूर्वको भ्रमणमा आउँदा बगानभित्र रहेको दरबार प्रयोग गर्दै आएका छन्।