नागरिक अगुवाहरूको आग्रहमा १६औं अनशन स्थगित गरेका डा. गोविन्द केसीको अहिले आईसीयूमा उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालको जेनेरल वार्डमा उपचाररत डा. केसीलाई अनशन स्थगित गरेको शुक्रबार साँझ नै आईसीयू कक्षमा सारिएको उनका अभियन्ताले जानकारी दिएका छन्।
त्रिवि शिक्षण अस्पतालका कुचिकार अमृत पुजारी, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिउँदै डा. केसीले १६औं अनसन २४औं दिनमा तोडेका हुन्।
‘२४ दिनसम्म अनशन बस्दा उहाँको स्वास्थ्य कमजोर बनेको छ,’ अभियन्ता प्रितम सुवेदीले नेपालखबरसँग भने, ‘चिकित्सकको सल्लाहअनुसार शुक्रबार साँझदेखि आईसीयूमा सारेर उहाँको उपचार भइरहेको छ।’ डा. केसीको स्वास्थ्य क्रमशः सुधार हुँदै गएको चिकित्सकले बताएका छन्।
इलाममा गएर पुस २५ गते १६औं अनशन थालेको दुई/चार दिनमै स्वास्थ्य समस्या देखिन थालेपछि डा. केसीलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ आईसीयू नभएका कारण उपचारमा समस्या परेपछि डा. केसीलाई हेलिकोप्टरमार्फत माघ ४ गते बिहानै काठमाडौं ल्याइएको हो।
त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका उनले आफ्नो कारणले सर्वसाधारणको उपचारमा समस्या परेको भन्दै जेनेरल वार्डमा सार्न आग्रह गरेका थिए। साेबमाेजिम यही माघ ६ गते दिउँसोदेखि जेनेरल वार्डमा उपचाररत डा. केसीलाई अहिले पुनः आईसीयूमै सारिएको हो।
माइतीघरमा प्रदर्शन हुँदै
सोलिडारिटी फर डक्टर केसी अलायन्सले आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ।
अलायन्सका एक सदस्य प्रितम सुवेदीका अनुसार डा. केसीको अनशन स्थगित भएकाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलका साथै प्रदर्शन गर्ने कार्यक्रम छ। मध्याह्न १२ बजे कार्यक्रम गरिने उनले जानकारी दिए।
‘डा. केसीले अनशन स्थगित गरे पनि आफ्नो आन्दोलन जारी नै राख्नुभएको छ, त्यो कुरा उहाँले हिजो (शुक्रबार) विज्ञप्तिमार्फत नै जानकारी गराइसक्नुभएको छ,’ नेपालखबरसँग सुवेदीले भने, चिकित्सा शिक्षा विधेयक ऐनकै रूपमा आइसक्दा पनि त्यहाँ रहेका ‘मेडिकल माफियामुखि’ बुँदा नहट्दासम्म हाम्रो लडाइँ जारी रहन्छ।’
तर सरकारले भने केसीका मूल मागहरू पूरा भइसकेको जिकिर गरिरहेको छ।
डा. केसीले जारी गरेको विज्ञप्तिः