गृहपृष्ठ Featured सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

प्रकाशित मिति:


सर जिम र्‍याटक्लिफे

सर जिम र्‍याटक्लिफे

युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न भित्रभित्रै योजना बनाइरहेका थिए।

अचम्म त उनी आफैँ एक ब्रेक्जिटका कट्टर समर्थक रहेका छन्। उनले यसरी देश छाड्न खोज्नुमा कारण छ। आफ्नो कम्पनीले आर्जन गरेको मुनाफाबाट तिर्नुपर्ने करबापतको झण्डै चार बिलियन पाउण्ड जोगाउन उनले बेलायत छोड्न लागेका हुन्।

बेलायतले युरोपेली संघ छाड्ने तयारी गरिरहँदा गत वर्ष बेलायती धनाढ्यको सूचीमा एक नम्बरमा रहेका सर जिम र्‍याटक्लिफेले देश छोड्न लागेको सार्वजनिक भएको हो। उनी आफ्ना दुई साझेदारसँग मिलेर कर बापतको चार बिलियन पाउण्ड अर्थात् झण्डै ५ खर्ब ८९ अर्ब रुपैयाँ जोगाउन विश्वकै दोस्रो सानो, स्वतन्त्र र सार्वभौम देश मोनाको जाने तयारीमा लागेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

र्‍याटक्लिफे विश्वकै चर्चित बहुराष्ट्रिय केमिकल कम्पनी इनियोसका संस्थापक हुन्। इनियोसको मुख्यालय बेलायती सहर लण्डनमा रहेको छ। द गार्जियनकाअनुसार र्‍याटक्लिफेको कम्पनीको भ्यालु करिब ३५ बिलियन पाउण्ड रहेको छ। र्‍याटक्लिफेले कर विज्ञहरुसँग कम्पनीको विश्वव्यापी आम्दानीबाट तिर्नुपर्ने कर कम गर्न जुक्ति खोजिरहेका छन्। उनले प्राइसवाटरहाउसकुपर्स (पीडब्ल्यूसी)सँग यस्तो परामर्श गरेका हुन्। पीडब्ल्युसी एक बहुराष्ट्रिय परामर्श सेवा प्रदायक कम्पनी हो जसको नाम यस्तो सेवा दिने विश्वका ‘टप फोर’ कम्पनीमध्ये पर्दछ। विश्वमा डिलोइट, पीडब्ल्युसी, ईवाई र केपीएमजी यस्तो सेवा दिने बहुराष्ट्रिय कम्पनीहरू हुन्।

त्यसो त उनले मोनाकोलाई गन्तव्य रोज्नुमा पनि रोचक तथ्य छ। मोनाको मात्र २ वर्गकिमि क्षेत्रफलको स्वतन्त्र देश हो, जहाँको जनसंख्या मात्र २७ हजार रहेको छ। यो देशलाई ट्याक्स हेभन अर्थात् धनाढ्यहरुका लागि बिना कर पैसा राख्ने थलोका रुपमा ‘स्वर्ग’ मानिन्छ। र्‍याटक्लिफे अहिले ‘ग्रिन ट्याक्सेस’ घटाउन चलखेल गरिरहेका छन्। इनियोसमा उनको ६० प्रतिशत स्वामित्व छ भने यसबापत मात्रै गत वर्ष २.२ बिलियन पाउण्ड नाफा आर्जन भएको थियो। त्यस्तै बाँकी ४० प्रतिशत स्वामित्व भने र्‍याटक्लिफेका दुई साझेदारहरु एण्डी कर्री र जोन रीसले २०/२० प्रतिशत भाग लिएका छन्। यो भनेको कम्पनीको ७ बिलियन पाउण्ड बराबरको सम्पत्ति हो। उनीहरु पनि कर तिर्नबाट बँच्न मोनाकोतिरै हानिने तयारीमा लागेको मिडियाहरुको भनाइ छ ।

र्‍याटक्लिफेको कम्पनी इनियोस

र्‍याटक्लिफेको कम्पनी इनियोस

उनले मोनाको बसाइँ सर्दा कति पैसा कर तिर्नबाट बचाउलान् भन्ने यकिन भइसकेको छैन। उनको यस्तो योजनाबारेको खुलासा अर्का ब्रेक्जिट पक्षधर जेम्स डाइसनले सिंगापुरमा आफ्नो व्यवसाय सारेपछि भएको हो। त्यस्तै पीडब्ल्युसी जो लक्सलिक्स स्क्यान्डलमा फसेको थियो, उसले डाइसन र औषधि फर्म शायरलाई समेत मद्दत गरेको थियो। त्यसपछि पीडब्ल्यूसीको चर्को आलोचना भएको थियो। पीडब्ल्युसीको ‘लेबाइरिन्थिन’ एक प्रकारको कर छल्ने बाटोबाट लाखौँलाख पाउण्ड कर छल्न उसका ‘क्लाइन्ट’ कम्पनीहरु सफल भएका थिए।

र्‍याटक्लिफेको यस्तो योजनाबारे खुलासा भएसँगै लिबरल डेमोक्रेट नेता सर भिन्स केबलले उनको योजनालाई ‘बिल्कुलै स्वार्थी’ र आत्मकेन्द्रित भनी आलोचना गरेका छन्। देशप्रतिको प्रतिबद्धताबाट बाहिरिने लज्जास्पद कदमको रुपमा केबलले टिप्पणी गरेको गार्जियनले उल्लेख गरेको छ।

र्‍याटक्लिफेको योजनाबारे खुलासा भएसँगै उनीविरुद्धको आक्रोश बढेको छ। यद्यपि पीडब्ल्युसीले भने यस्तो खुलासाबारे प्रतिक्रिया दिएको छैन। सन् २०१७ को इनियोसको वार्षिक प्रतिवेदनअनुसार पीडब्ल्युसीले कम्पनीबाट ५.१ मिलियन पाउण्ड सेवाशुल्क लिएको थियो। त्यसअघि उसले ५.८ मिलियन पाउण्ड लिने गरेको थियो। त्यसमा पनि १.७ मिलियन पाउण्ड त कर छल्ने उपाय दिएबापत लिने गरेको थियो भने ७ सय मिलियन पाउण्ड उसले अडिटबापत लिएको थियो।

सन् २०१८ मा र्‍याटक्लिफे बेलायतकै सबैभन्दा धनी बन्न सफल भएका थिए। उनले आफ्नो सम्पत्तिलाई मानिसहरुले कम आँकेको भन्दै द सन्डे टाइम्समा चित्त नै दुःखाएका थिए। उनको सम्पत्ति १५.३ बिलियन पाउण्डबाट एकैचोटि २१ बिलियन पुग्दा उनी १८औँबाट पहिलो नम्बरका धनी बन्न सफल भएका थिए। यो सबै उनले इनियोसको सम्पत्तिबारे खुलाएपछि भएको थियो। र्‍याटक्लिफेले इनियोस सन् १९९८ मा स्थापना गरेका थिए। सन् २०१९ मा उनले इनियोसको आधिकारिक मुख्यालय ६ वर्षका लागि स्विटजरल्याण्ड सारेका थिए, त्यो पनि सरकारसँग कर विवाद चर्केकै कारण। (एजेन्सीको सहयोगमा)

सम्बन्धित् समाचार