प्रदेश सरकारले नदीजन्य पदार्थको प्राकृतिक श्रोतको दिगो व्यवस्थापन र सदुपयोगका लागी जारी गरेको नदीजन्य पदार्थको व्यवस्थापन कार्यबिधी २०७५ मा भएका व्यवस्थाहरुलाई जिल्लामा उल्लघन गर्ने गरिएको भेटिएको छ । नदीजन्य पदार्थ निकासीका लागी सम्झौताका सर्त बिपरित र प्रदेश सरकारको नदीजन्य पदार्थको व्यवस्थापन कार्यबिधी उल्लघन गर्दै नदीजन्य पदार्थ निकासी हुने गरेको हो । यस बर्ष जिल्लाको बिभिन्न स्थानिय तहमा लगाईएको ठेक्कामा मापदण्ड मिचिदै आएको भए पनि जिल्लास्तरीय अनुगमन समिती कारवाहीका लागी मौन छ । पछिल्ला समय जिल्लाका अधिकांस खोलानालामा तोकिएको परिणाम बढि नदीजन्य पदार्थ अनियन्त्रित रुपमा निकासी गरेको, घाटगद्दी बिनै नदीजन्य पदार्थ बिक्री बिरतण गरेको, नदीमा मेसिन लगाई नदिजन्य पदार्थ दोहन गरेको घटना बाहिर आएका छन । सो सगै घाटगद्दी पछि तोकिएको अधिकतम मुल्य भन्दा दुई गुणा बढि मुल्यमा नदीजन्य पदार्थ बिक्री बितरण समेत हुदै आएको छ । प्रदेशको कार्यबिधीको परिच्छेद ३ को दफा १० को संकलन भण्डारण र घाटगद्दीको व्यवस्थाको २ को उपदफा (१) बमोजिम घाटगद्दी स्थान छनौट गर्दा उत्खनन संकलन स्थलबाट न्युनतम ५ सय मिटरको दुरी कायम गर्नु पर्ने र वन क्षेत्र, सार्वजनिक जग्गा, सडक किनार र आवत जावतमा अवरोध हुने गरि घाट गद्दी गर्न नपाउने स्पष्ट व्यवस्था छ । तर जिल्लाका कुनै पनि ठेक्का लागेका उत्खनन संकलन स्थलमा सो सहितका कार्यबिधीका अन्य मापदण्ड समेत पुरा गरिएको छैन ।
जिल्लाको बाणगंगा नगरपालिकाको बाणगंगा र भगलापुर सुठौली नाकामा नदीजन्य पदार्थको ठेक्का सकारेको दिपीका निर्माण सेवाले मापदण्ड मिचेर कार्य गरेको भेटिएको छ । नगरपालिका सँगको सम्झौतामा नदीबाट नदीजन्य पदार्थ निकाली घाटगद्दी गरे पछि अनुगमन समितीले नाप जाँच गरेर स्विकृती दिए पछि मात्रै सो सामाग्री बेच्न पाउने उल्लेख छ । तर भगलापुर नाकामा भने तत्कालै सवारी साधनबाट घाटगघद्दी स्थलमा नदीजन्य पदार्थ खसाल्ने र तत्कालै बिक्री बितरण गरेको भेटिएको छ । उता सोहि निर्माण सेवाले बाणगंगाको मधुवनमा घाटगद्दी गर्न आउने टयाक्टरलाई खोलाबाट सोझै दैनिक दुई खेप नदीजन्य सामाग्री दिदै आएको भेटिएको छ । निर्माण सेवाका प्रतिनिधी यमलाल पौडेलले सञ्चालकको निर्देशन अनुसार घाटगद्दीमा काम गर्ने टयाक्टरलाई खोलाबाट साझै नदीजन्य पदार्थ लैजान दिएको बताए । भगलापुर नाकामा भेटिएका एक टयाक्टर चालकले कतिपय अवस्थामा नदीबाट सोझै नदीजन्य पदार्थ बिक्री बितरण हुदै आएको बताए ।
भगलापुर सुठौली नाकामा नदीजन्य पदार्थको घाटगद्दीका क्रममा सम्झौता उल्लघन गरि बिक्री नदीजन्य पदार्थको बिक्री बितरण गरेको बिषयमा बुझदा ठेक्का लिएको दिपीका निर्माण सेवाका प्रतिनिधी कृष्ण प्रसाद पोख्रेलले कर्मचारीबाट सामान्य त्रुटी भएको हुन सक्ने भन्दै ढाकछोप गर्न खोजे । आफुहरुले सम्झौता अनुरुप नै घाटगद्दी गरेर आवश्यक नाप जाँच पछि मात्रै नदीजन्य पदार्थको बिक्री बितरण गरेको उनले जानकारी दिए । सो निर्माण सेवाले ३७ हजार ८ सय ६ धनमिटर नदीजन्य पदार्थ निकासीका लागी कर सहित ४ करोड ७० लाख ५९ हजार ५ सय मा ठेक्का सकारेको छ । तर सम्झौतामा तोकिएका मापदण्ड बिपरित घाटगद्दी बिनै तोकिएको मुल्य भन्दा बढि रकम लिएर नदीजन्य पदार्थ बिक्री बितरण गर्दै आएको छ ।
बाणगंगाको भगलापुर नाकामा मात्रै नभई बुद्धभुमी नगरपालिकाको झिगवा खोलामा समेत मापदण्ड मिचेर नदीजन्य पदार्थको तोकिए बढि मुल्य लिईदै आएको छ । कर सहित ९१ लाख २६ हजार ४ सय ५२ रुपैयामा १९ हजार ९ सय ६५ धन मिटर नदीजन्य पदार्थ निकाल्ने गरि ठेक्का लिएको आचार्य बिल्डर्सले नगरपालिका सँग गरेको सम्झौताको ठाडो उल्लघंन गरेको छ । सञ्चारकर्मीको टोली पुग्दा बुद्धभुमी नगरपालिकाको वडा नम्बर ३ को टाकु बोक्टापुर स्थित झिगवा खोलामा रहेका आचार्य बिल्डर्सका प्रतिनिधी राकेश थापाले ढुङ्गा प्रति क्युफिट ३ हजार २ सय मा बिक्री गर्ने तर बिल भने ६ सय ७८ रुपैयाको मात्रै दिन मिल्ने बताए । सो फर्मले सम्झौतामा १ मिटर गहिराई सम्म नदीजन्य पदार्थ झिक्न पाउने सहमती गरेको भए पनि २÷३ मिटर गहिराईमा गई अनियन्त्रित रुपमा नदीजन्य पदार्थ झिक्ने गरेको भेटिएको छ । सो नाकाको ठेक्कामा स्थानिय राजनैतिक दलका जनप्रतिनिधीको समेत लगानी रहेको श्रोतको दाबी छ ।
सो फर्ममा केहि प्रतिशत लगानी गरेका स्थानिय प्रतिनिधी रहेका राम प्रसाद न्यौपाने काँग्रेसका नगर अध्यक्ष पनि हुन । नगर प्रमुख केशव श्रेष्ठको निकटको सम्बन्ध रहेका न्यौपानेले नगर प्रमुख सहितका व्यक्तिलाई प्रभावमै पारेका कारण नगरपालिकाले सम्झौता उल्लघन गरे पनि कारवाहीमा चासो नदेखाएको श्रोतको दाबी छ । “नगरका नेता र वडाकै जनप्रतिनिधीको अप्रत्यक्ष लगानी छ । त्यसैले सम्झौता मिचे पनि नगरपालिकाले कुनै कारवाही गरेको छैन ।” एक स्थानियले भने । सो बिषयमा बुझदा न्यौपानेले कमी कमजोडी भएको स्विकार्दै बसेर कुरा मिलाउन आग्रह गरे ।
उता बुद्धभुमी नगरपालिकाकै वडा नम्बर ९ को गब्दाहवा नाकामा आईतबार खोलामा एक्साभेटर प्रयोग गरि नदीजन्य पदार्थ निकाल्दै गर्दा ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले एउटा एक्साभेटर र एउटा टिप्परलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितीमा बुझाएको खुल्न आएको छ । सो नाकाको खड्का काष्ठ तथा फर्निचर बाणगंगा ११ ले ठेक्का सकारेको छ । सो फर्म र नगरपालिका बिच २०७५ माघ २५ गतेको सम्झौताको ११ नम्बर बुदाँमा कुनै हेवी मेसिनरीको प्रयोग गर्न नपाउने उल्लेख छ । नदीजन्य पदार्थको निकासीको अनुगमनका लागी जिल्ला समन्वय समितीका प्रमुख सहित सुरक्षा निकायका प्रमुखहरु सम्मेलित अनुगमन समिती बनाईएको छ । तर अनुगमन र कारवाहीमा अनुगमन समितीनै अन्योलमा छ । बिगतका बर्षमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितीले अनुगमनमा तिब्रता दिदै आएको भए पनि जिल्ला समन्वय समितीका प्रमुखले सबै निकाय सँग समन्वय गर्न नसक्दा अनुगमन फितलो भएको एक सुरक्षा निकायका प्रमुखले बताए । आफुहरुले पटक पटक अनुगमन गरेको दाबी गर्दै अनुगमनका क्रममा त्रुटी नै फेला नपरेको अनुगमन समितीका संयोजक रहेका जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले बताए । अनुगमनको प्रमुख जिम्मेवारी ठेक्का लगाउने स्थानिय तहको पनि भएको भन्दै उनले आफनो बचाउ गरे । राजनैतिक प्रभावकै कारण कारवही हुन नसकेको हो त भन्ने सञ्चारकर्मीको प्रश्नमा आफुहरुले अनुगमन र कारवाहीलाई अगाडी बढाउने र गलतलाई कारवाहीमा कसर नराख्ने प्रतिक्रिया दिए । यस अघि प्रदेशबाट आएको अनुगमन समितीले समेत कपिलवस्तु जिल्लामा मापदण्ड मिचेर नदीजन्य पदार्थको उत्खनन भएको प्रतिबेदन दिए पनि हाल सम्म कुनै कारवाही भएको छैन ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको भगलापुर नाकामा घाटगद्दीस्थलमा एकै पटक संकलन र बिक्री गरिदै । नदीजन्य पदार्थ निकासीको ठेक्का लिएको दिपीका निर्माण सेवाले घाटगद्दीको मापदण्ड पुरा नगरी नदीजन्य पदार्थ बिक्री बितरण गर्दै आएको छ ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको झिगवा नाकामा सम्झौता बिपरित १ मिटर भन्दा बढि गहिराईमा नदीजन्य पदार्थको उत्खनन गरिदै । नदीजन्य पदार्थ निकासीको ठेक्का लिएको आचार्य बिल्डर्सले मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन गर्दे तोकिएको बढि मुल्यमा सो सामाग्री बिक्री बितरण गर्दै आएको छ ।