अजय मिश्र ,कपिलवस्तु जेठ १६,
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका विकास विराेधी केही स्थानीय नेताहरू निर्वाचनमा हार व्यहोरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाउनु भएको छ । केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रति आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले स्थानीय केही नेताहरू नकारात्मक प्रचार गरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूलाई हताश बनाउने प्रयास गर्दै आएको बताउनु भयो ।
कृष्णनगर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै शाहले यस क्षेत्रका केही ठुलाबाडाले केही अनलाइनमा भ्रामक समाचार लेख्न लगाई नगरपालिकामा प्रापोगण्डा मच्चाउन खोजेको आरोप लगाउनु भयो । विभिन्न वहानमा आफू र नगरपालिकाका कर्मचारीहरूलाई लक्षित गरी गलत समाचार प्रकाशन हुँदै आएकोले सत्य तथ्य पत्ता लगाउन समिति बनाई अनुसन्धान थाल्ने नगर प्रमुख शाहको भनाई रहेको छ ।
त्यस्तै कृष्णनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख शाकिर अहमद शाहले आफूलाई भारतीय नागरिक भनेर आएको समाचारको खण्डन गर्नु भएको छ । केही व्यक्तिले भारतमा गई मेरो फोटो भारतको निर्वाचन नामावलीमा नाम दर्ता गरी बदनाम गर्न खोजेको बताउनु भयो । भारतको भोटलिष्टमा मेरो नाम लेखाउने व्यक्ति नेपालकै केही ‘ठूलाबडा’ रहेको उहाँले आरोप लगाउनु भयो । शाकिर शाहले भारतको निर्वाचन आयोगमा लेखाइएको नाम हटाउन र आफू निर्वाचन मा भाग नलिएको नाेटरी संचारकर्मीहरुलाई देखाउँदै भारतका एसडिएमले प्रमाणित गरेको पत्र नगरपालिकामा बुझाईसकेकाे बताउनु भयो ।
कृष्णनगर नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नगर प्रमुख रजत प्रताप शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । भारतीय लोकसभा निर्वाचनको दिन शाखा प्रमुख शाकिर अहमद शाह कार्यालयमै हाजिर भई दिनभरि काम गरेको भन्दै त्यसको प्रमाण स्वरूप सिसिटीभि क्यामराको फुटेज र कर्मचारी हाजिरी रहेको उल्लेख गरिएको छ । नगर प्रमुख शाहले भ्रामक समाचारको पछि नलागी नगरको समग्र विकास कार्यमा सबैले सहयोग गर्न अनुरोध गर्नु भएको छ । यदपी नगर प्रमुख शाह र प्रशासन शाखा प्रमुख शाहले ‘ठूलाबडा’ भन्नेको नाम भने खुलाउन चाहनु भएन ।