गृहपृष्ठ राजनीति एक महिनाको बीचमा काँग्रेसमा ३१ हजार नवप्रवेशी

एक महिनाको बीचमा काँग्रेसमा ३१ हजार नवप्रवेशी

काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्नु अघि नै संघीय संरचना अनुसार आफ्ना पार्टी संरचना बनाउने भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालयमा जागरण अभियानबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै अधिवेशन हुन नसकेका भातृ संस्थाहरुलाई दोस्रो चरणको अभियान अघिनै मनोनय गर्ने जनाएको छ । नेविसंघ लगायतका भातृ संस्थाको अधिवेशन हुन सकेको छैन ।

काँग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि सुरु गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

यसैबीच प्रथम चरणको एक महिने“हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान” मा देशभरबाट ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माले त्यस क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट काँग्रेसमा सो संख्यामा प्रवेश बताए ।

काँग्रेस प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु समेत रहेको काँग्रेसले जनाएको छ ।

नवप्रववेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी प्रदान गर्ने जनाएको छ ।

काँग्रेसको प्रथम चरणको उक्त अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते मा सम्पन्न भएको थियो । दोस्रो चरणको अभियान भने असोज ७ गतेसम्म चल्नेछ ।

महिना दिनमा दुई हजार बढी कार्यक्रम

जागरण अभियानको प्रथम चरणको एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रमसमेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएको काँग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रहेको काँग्रेसले जनाएको छ ।

अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले

आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गरेका थिए ।

काँग्रेसले अभियानअन्र्तगत गाउँ–गाउँमा पुग्दा काँग्रेसप्रति जनताको आकर्षण र सरकारप्रति असन्तुष्टि देखिएको दावी गरेको छ ।

‘वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कमजोरी आत्मासात गर्दै अघि बढ्ने 

जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका जनाएको छ । सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा नेता– कार्यकर्ताबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै अघि बढ्ने काँग्रेसको भनाई छ ।

सम्बन्धित् समाचार