गृहपृष्ठ Featured उद्यमशिल श्रमशक्ति राष्ट्रको सम्पत्ती वडा नं १ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ।।

उद्यमशिल श्रमशक्ति राष्ट्रको सम्पत्ती वडा नं १ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु ।।

प्रकाशित मिति:

कपिलवस्तु, असार २ ।

‘उद्यमशिल श्रमशक्ति राष्ट्रको सम्पत्ती’ भन्ने मूल नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले बेरोजगार व्यक्तिहरुलाई रोजगारी दिन सुरु गरेका छन् । केही स्थानीय तहले रोजगारी दिइसकेका छन् भने केहि स्थानीय तहले रोजगारमुलक कार्यक्रमको आयोजना तथा कामदार छनौटको काम सुरु गरिरहेका छन् ।

यसैक्रममा बाणगंगा नगरपालिका भित्रका वडाले रोजगार उपलव्ध गराउने र यसलाई कार्यान्वयन गर्ने तयारीमा जुटिरहेका छन् । जस अनुसार वाणगंगा नगरपालिका वडा नम्बर १ ले आज एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरेको छ । वडा नम्बर १ को श्रीनगर डाँडादेखि शान्ति टोल सम्मको कूलो खनेर कार्यक्रमको सुरुवात गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले वडामा परेका १ सय १० आवेदकहरु मध्ये पहिलो चरणमा ३० जना बेरोजगार युवाहरुका लागि ३० दिन बराबरको रोजगार शुरुवात गरिएकोे वताउनु भयो । आयोजीत कार्यक्रममा वडा अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरि स्वदेशमा युवा परिचालन गर्नुपर्ने आजको आवश्यकता रहेको औल्याउनु भएको थियो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि युवाहरुलाई देशमै परिश्रम गर्ने बानीको विकास हुने समेत प्रस्ट पार्नुभएको थियो ।

यस्तै विदेश जाने युवालाई स्वदेशमा परिचालन गर्नको लागि यो कार्यक्रमले विशेष महत्व राख्ने वडा सदस्य झलक मल्ल ठकुरीको भनाई रहेको छ । उहाँले ओली नेतृत्वको नेपाल सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको सैद्धान्तिक आधार भनेको प्रधानमन्त्री रोजगार कार्यक्रम भएको र यसलाई कार्यान्व्यन गर्ने गरि काम शुरु गरिएको बताउनुभयो ।

सोमबारदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा ३० जना युवाहरुले रोजगार प्राप्त गरेका छन्् । युवाहरुले दैनिक ज्यालाको रुपमा ५ सय १७ ज्याला प्राप्त गर्ने छन् ।

उक्त कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीको अध्यक्षता, वाणगंगा नगरपालिका रोजगार संयोजक कृष्ण कुमार पोखरेल, सूचना प्रविधि अधिकृत सम्राट रेग्मीको विशिष्ट आतिथ्यता रहेको थियो । वडा सदस्य झलक मल्ल ठकुरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सचिव गोविन्द आर्चायले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार