ऊ बेला गाऊँका धनीहरू जति सबै शोसक सामन्तीहरू जस्तो लाग्थ्यो । शोषक भएरै त यिनीहरू धनी भए नि जस्तो लाग्थ्यो ।
सोचाइको यही धरातलमा उभिएर ऊनिहरूलाई गोली ठोकियो । कुटीकुटी मारियो । उठिबास लगाएर गाऊँबाट लखेटियो । तै पनि गाऊँ अझसम्म उस्तै छ । उस्तै के, — खासमा हो त्यहीं समयदेखि गाऊँ बाँझो पल्टेर बसेको छ । किन होला ? मतलब तीं मान्छेहरूलाई जे सम्झेर कार्बाही गरिएको थियो, वास्तवमा त्यस्तो नभएर तिनीहरू गाऊँका सबैभन्दा मेहनती मान्छेहरू थिए ? के तिनीहरू काम गर्दा गर्दै खान नै बिर्सने मेहनती किसानहरू थिए ? के तिनीहरूले अरूलाई शोषण गरेर भन्दा आफैले नखाई नखाई कमाएको थियो त्यो सम्पति ? के तिनीहरू लोभी थिए ? के तिनीहरू त्यसरी माटामा काम गर्थे कि ऊनिहरूलाई म भोलि मर्छु, यति धेरै दु:ख किन गर्नु, अब त खान पुगिहाल्छ नि – भन्ने कहिल्यै ज्ञान भएन ? मेहनत ऊनिहरूको नसा नसामा नशा भएर बसिसकेको थियो ? के त्यसरी धनी भएका थिए ऊनिहरू ? के तिनीहरू वास्तवमै सामन्ती थिएनन् ? आँखिर किन बाँझो भयो गाऊँ ठीक त्यहीं समय पछि जब मारिए, लखेटिए ऊनिहरू गाऊँबाट ? के असली सामन्ती गाऊँमा हलो जोतेर तीन तले घरमा बस्ने किसान नभएर सिंहदरबारमा शासन गर्ने अरू कोही थियो ?
के बन्दुक खराब ठाऊँमा खराब मान्छेको छातीमाथि पड्किएको थियो ? के खुट्टा खराब मान्छेका काटिएका थिए ? ऊ सोच्दा सोच्दै रोकियो । ऊ दश बर्ष पछि बिदेशबाट गाऊँ फर्किएको छ । गाऊँको सिरानमा रहेको भुतेढुंगामा बसेर ऊ आज गाऊँ हेरिरहेको छ । ऊसलाई गाऊँ पहिलाको जस्तो रमाइलो लागेन । ऊसले त्यहाँबाट गाऊँमा कुनै रमितलाग्दो दृष्य देख्न सकेन । भुईंमा ओर्लियो र अमिलो मन वनाएर विस्तारै हिंड्यो । ऊ बाटामै बेरिने गरी लहरिएका बयरी काँडामा अल्झेर लड्यो । सिरूको छिप्पिएको पातले उसको आँखाको डिलमै घोच्यो । तप्प रगत खस्यो । बरर आँसु खसे । रगत र आँशु दुबै मिसिएर खसे ।
ऊ आँतियो । ऊ चिच्यायो । ऊ करायो । ऊ ब्युँझियो । यसरी उसले आज साह्रै नराम्रो सपना देख्यो । हिजो मात्र ऊसले गाऊँको कुरा गरेर सुतेको थियो । आमाले फोनमा भन्नु भएको थियो – गाऊँमा तेरो उमेरका छोराहरू कसैका पनि घरमा छैनन् । तेरो उमेरको अरूकै छोरो हेरेर पनि चित्त बुझाउन पाइन छोरा । एकचोटी त घर आइज । तँलाई नभेटी म मरें भने तैंले जति सम्पति कमाए पनि मलाई के काम ? आमा भक्कानिएकी थिएन् । ऊ भक्कानिएको थियो । आमाछोरा एकै साथ रोएका थिए ।
यसरी ऊ मन हल्का बनाएर निदाएको थियो हिजो । आज उसलाई काममा जान पटक्कै मन छैन । विहानभरी के के सोच्यो सोच्यो । मनमा पनि कहिले कहीं धारावाहिक रूपमा कति कुरा खेल्छन् कति ! खान पनि भ्याएको छैन उसले । तर ऊसलाई लिन गाडी बाहिर आइसकेको छ । अपार्टमेन्ट बाहिर कम्पनीको गाडीको हर्न बजिसकेको छ ।
- मणी भट्टराइ