काठमाडौं : जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको हो ।
ओखलढुंगा जाँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसअघि जनकपुर अदालतले साहबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै उनी विरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका थिए ।
राजपाका सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । जहाजले काठमाडौं ल्याउन नमानेपनि उनी प्रशासनको दवावमा सोही जहाजमा काठमाडौं आएका थिए ।








