कपिलवस्तुको वाणगंगा नगरपालिकाले चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारसंग वाणगंगाले भगिनी सम्बन्ध राख्न लागेको हो । त्यसको औपचारकि हस्ताक्षर कार्यक्रम आइतबार आज हुँदै छ । शनिबार साँझ छिचौ नगर जनसरकारका उप मेयर फु चिन क्वाङ्गसहितको ६ सदस्यिय प्रतिनिधिमण्डलको टोली वाणगंगा आइपुगेको छ ।
टोलीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नगरपालिकाका बैदेशिक विभाग प्रमुख गुनानीधी भुसाल, नगरपालिकाका प्रशासकीय अधिकृत केशवराज भट्टराई लगायत कर्मचारीको टोलीले स्वागत गरेको थियो ।
आज प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुने
बाणगंगा नगरपालिका र चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारसंग हुने भनिएको भगिनी सम्बन्धको आज प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ आज दिउँसो ३ :३० बजे ठाकुरापुरमा रहेको पिस हिमालय रिसोर्टमा सरोकारवालाहरूको उपस्थितीमा हस्ताक्षर कार्यक्रम हुने नगरपालिकाका बैदेशिक विभाग प्रमुख गुनानीधी भुसाल ले वैखरी अनलाइन लाई जानकारी दिनु भयो l
नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन् । चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन् ।
काठमाण्डू महानगरपालिकासहित धेरैवटा नगरले विभिन्न मुलुकका सहरहरूसँग यस्तो सम्बन्ध राखिसकेका छन्।
तर विगतका वर्षहरूमा भगिनी सम्बन्ध स्थापनालाई कतिपयले विदेश भ्रमणको अवसरका रूपमा मात्र लिइदिँदा ‘नागरिक कूटनीति’मा खासै बल नपुगेको स्वयम् सरकारी अधिकारी नै स्वीकार्छन्।
विभिन्न देशका सहरहरूबीचको भगिनी सम्बन्ध विस्तार गर्ने चलन नेपालमा सुरु भएको करिब २५ वर्ष भइसकेको छ।