कथा: ब्रोकन होम
अलार्म कसलाइ मन पर्छ?
धेरैलाई मन पर्दैन,त्यस्तै मलाई पनि मन पर्दैन।
किन?के छ त्यस्तो अलार्म मन नपर्नुमा? अलार्मले त ब्युझाउँछ हामीलाई ,नयाँ बिहानी देखाउँछ र देखाउँछ सपना पूरा गर्ने गोरेटो पनि । तँलाइ चाहिँ किन मन पर्दैन ? कि निद्रा पुग्दैन बिहान सम्म अनि सुतिरहुँ लाग्छ?त्यो त धेरैलाई लाग्छ कि बिस्तारामै लडिबुडी गर्दै धित मरुन्जेल सुतिरहुँ र घुमुँ सारा संसार सुतेरै! तर सुतेर कहाँ सपना सपना पूरा हुन्छ र लाटा ? साँच्ची भन त,तँलाई किन मन पर्दैन अलार्म?
कारण छ!
के कारण ?
सबै कारण तँलाई बताउनै पर्छ भन्ने छ र?
छैन तर तैंले बताउनै पर्छ यदि म तेरो बेस्ट फ्रेण्ड हुँ भने। (यति बोलिसकेर अजय शान्त हुन्छ,सुमन बोल्ने चाह गर्दैन,बताउन मन गर्दैन अलार्म मन नपराउनुको कारण तर खै के के सोँच्छ कुन्नी बिस्तारै अजयको काँधमा हात राख्छ।)
नरिसा अजय,तँलाई नभनी के चाहिँ लुकाएको छु मैले आजसम्म? म बताउँछु यसको कारण । तैंले माथी जे भनिस् ती सबै ठिक हुन् । तर मेरो जीवनको अलार्म नै छुट्टै छ।
म जान्ने हुँदा बा बिदेश हुनुहुन्थ्यो । आमा र म अनि हजुरामा थियौं घरमा। म जन्मेकोले परिवारमा खुशी छाएको थियो रे। घरमा आमा र हजुरामा मिलेर खेतिपाती गर्नुहुन्थ्यो । छोराको बाल्यकालको साथी हुन पाइन भनेर बा पीर मानेर चिठी पठाउनुहुन्थ्यो रे। म स्कुल जाने भएपछि बा बिदेशबाट घर आउनुभयो र काखमा लिँदै सोध्नुभयो ,बाबू म को?
मैले सजिलै उत्तर दिएँ ‘दाइ ‘!
आमा र हजुरामा बेस्सरी हाँस्नुभयो तर मैले बोध गर्न सकिन त्यतिबेला मेरो गल्ती। घरमा खेती किसानी राम्रो चल्थ्यो। बा’ले कमाउनुभएको पैसा सक्दो बचत गरेर राखिदिनुभएको थियो रे हजुरामाले,मेरो भविष्यको लागि भन्नुहुन्थ्यो । म बुझ्थिन ती कुरा।
बा अब बिदेस नजाने हुनुभयो। सानो परिवारको एक्लो सन्तान,म निर्बाध हुर्किरहेको थिएँ । खान लाउनमा पनि समस्या थिएन । मैले दुइमा पढ्दा हजुरामा बिरामी पर्नुभयो। उपचार गर्नुभयो बा’ले तर निको भएन। अन्ततः मलाई हुर्काएकि मेरी हजुरामा हामीमाझ रहनुभएन। उहाँलाई ओढाएको कपडा निकाल्दै बोलाएको थिएँ हजुरामालाई तर बोल्नुभएन।त्यत्तिकैमा कसैले लग्यो मलाई र भन्न थाल्यो,बाबू अब हजुरामालाई छुनु हुँदैन। उहाँ देउताको हुनुभयो।त्यही दिन हो मलाई देउतासङ्ग खुब रिस उठेको। मलाई सम्झना छ,त्यही दिन हो म पहिलोपटक आफुलाइ पिर परेर रोएको। खुब रोएँ । मेरा आशुँले ती ब्यक्तिका पनि गह भरिए। अब हजुरामा बादल बन्नुहुन्छ अनि तिमिलाइ शितल दिइराख्नुहुन्छ। नरोउ।
म आजपनी हजुरामाको याद आउने बित्तिकै बादल खोज्छु,शितलताको चाह राख्छु। तर खै किन,हजुरामा रिसाउनुभएको छ। उहाँ खासै आउनुहुन्न आकाशमा।
कर्मकाण्डको अन्तिम दिनसम्म त घरमा मान्छेहरू आइरहे,मलाई रमाइलो पनि लाग्थ्यो तर हजुरामा गुमाएको दु:खले त्यो रमाइलो ढाकिदिन्थ्यो । संस्कार अनुसार सबै कर्म सकेपछि बा र आमा बिस्तारै पुरानै दैनिकिमा फर्कनुभयो। म स्कुल जान थालेँ।
बा र आमाको चर्को कुरा सुनेर म ब्युझन्थेँ । के के भन्नुहुन्थ्यो आपसमा म बुझ्दिनथेँ तर मलाई नरमाइलो लाग्थ्यो। यो क्रम रोकिएन बरु बढ्दै गयो।म पाँच क्लास पढ्ने बेलासम्म बा आमाको चर्काचर्की झगडामै परिणत भैसकेको थियो। मलाई उहाँहरुको झगडाले भित्रभित्रै पोल्थ्यो। झगडा नगर्नुस् न भन्दा पनि उहाँहरु चुप लाग भन्नुहुन्थ्यो। म चुप रहिरहेँ । बिस्तारै उहाँहरुले मलाई गर्ने माया र स्याहार कमि भएजस्तो लाग्न थाल्यो ।खान मन लाग्न छोड्यो,मनमा कुरा खेल्न लागे। त्यसको असर मेरो पढाइमा पर्न थाल्यो।
उहाँहरु सङ्गै भयो कि झगडा गर्न शुरु गर्नुहुन्थ्यो । कारण के थियो मैले छुट्टाउन सकेको थिइन। मेरो उमेर र क्लास बढ्दै गएको थियो। मलाई जब मेरा अभिभावकले साथी बनेर हेरचाह गर्नुपर्थ्यो त्यो सबै उमेर मैले मानसिक टर्चरमै बिताउनुपर्यो। सिर्फ बा आमाकै कारण । उहाँहरुको बढ्दो असन्तुष्टिले यतिसम्म हद नाघिसकेको थियो कि बाले तेरो छोरो भन्नुहुन्थ्यो र आमाले पनि त्यही वाक्य दोहोराउनु हुन्थ्यो। आखिर म कसको छोरो हुँ त ? यसले मेरो किसोर दिमाग नराम्ररी हल्लाइदियो। मैले रातदिनको झगडा र मनमुटावका बिच एस एल सि पास गरेँ ।
साथीहरू कहाँ पढ्ने के गर्ने भनेर आपसमा सल्लाह गरिरहेका थिए। आफ्नो भने वर्तमान नै कालो बादलले धुम्म ढाकेको थियो,सुन्दर भविष्यको लागि कि त आधीबेहरी नै सहनुपर्थ्यो कि त परिवार त्याग्न। मेरो पढाईको बारे बा आमासित कुरा गर्दा मत्लब छैन भन्नुभयो। मत्लब छ कसलाई ? किन जन्मायौ? आखिर सधैभरको झगडा के का लागी ? कि म जन्मनु नै यसको मुख्य कारण हो? बताउनुस आज। किन चल्छ हरेक बिहान गृहयुद्द? के त्यसको कारण मै हुँ ? मलाई त बोल्ने स्वतन्त्रतासम्म छैन यस घरमा । आखिर के हो तपाईंहरुको इच्छा? बताउनुस आज। मैले मनभरिका कुरा एकै पटकमा खोलेको थिएँ त्यस दिन।
मेरा कुराले बा आमा मुखामुख हुनुभयो तर केही बोल्नुभएन। जवाफ केही पाइन मैले न त पाउनुपर्ने जति माया नै पाएको थिएँ। भोलिपल्ट बिहान घरमा अर्कै गुनगुनाहट सुनेँ। सधैको झगडाले ब्युझाउने मलाई त्यसदिनको गुनगुनाहट सपनामै कुनै फिल्म जस्तो लागिरह्यो।
छोरो कस्ले राख्ने? एउटा पुरुष आवाज तर बा’को थिएन।
म जुरुक्क उठेँ । घरमा के भैरहेको छ मलाई नै पत्तो थिएन। आत्तिदै तल आँगनमा आएँ जहाँ गाउँलेहरु भरिएका थिए। सबैले मेरै मुख ताके।
छोराले के भन्छ? एकपटक बुझौं उसको राय।
यो त्यही आवाज थियो जुन छोरो कस्ले राख्ने? भन्ने वाक्यांशमा गुञ्जिएको थियो। जुन घरमा मैले एसएलसी पास गरिसक्दासम्म मभित्र आएका विचार,भावना,कुण्ठा,क्रोध,खुशी,चञ्चलता र वेदना नामक संवेगलाइ सधै च्यापेर राखियो,त्यही घरमा आज मेरो राय सोधिँदैछ।
विषय के हो? के को लागि मेरो राय सुन्न चाहानुहुन्छ? मैले डराइडराइ भनेको थिएँ ।
बा आमाले सङ्गै नबस्ने निर्णय गरिसके बाबू,अब तिमिले भन्नुपर्छ कि तिमी कोसङ्ग बस्न चाहान्छौ?
म एकाएक उभिन नसक्ने भएँ ,आँखा तिरमिराए। रिंगटा लाग्यो र थुचुक्क बसेँ टाउकोलाई दुई हातको टेका लाएर। मैले टेकेको धर्ती धुजा फाटेजस्तो लाग्यो। भुकम्प र आँधीबेहरी एकैपटक आयो आयो मेरो जीवनमा। मैले होस् गुमाएछु। ब्युझिँदा अघि जो जो थिए ती कोही थिएनन् घरमा। मामा आउनुभएको रहेछ। मलाई मामाले शहर लैजाने कुरा गर्नुभयो । म बोल्नै सकिन,जति बोल्नु मेरा आँखाबाट छुटिरहेका झरनाहरु बोलेका थिए। जति बोल्नु मेरो मनले बोलेको थियो तर बुझिदिने कस्ले?
मौन स्वीकृति लक्षणम् भनेझैं मलाई त्यही दिन मामाले शहर लिएर आउनुभयो,जुन दिन मैले पहिलो पटक घर छोडेको थिएँ । दुई जोर कपडा,एउटा झोला र एउटा डायरी शिवाय रित्तो हात मामासङ्ग आएको हुँ।
पछिल्ला वर्षहरुमा दैनिक बा आमाको झगडाले ब्युझने म,त्यो अलार्मबाट छुटकारा त मिलेको थियो तर संघर्ष बल्ल शुरु हुँदै थियो। मामाको छत्रछायामा रहेर मैले धेरै संघर्ष गरेँ। सानातिना सफलता पनि पाएँ तर खुशी के थियो,हर्ष के थियो त्यसको ब्यावहारिक प्रयोग थिएन मसङ्ग। अहिले मसङ्ग घर,गाडी,इज्जतिलो जागीर, श्रीमती र दुई छोराछोरी छन् तर समय यति परिवर्तन भैसक्दा पनि मैले खुशी हुन जानेको छैन।
मामाले लिएर हिँडेदेखी मैले आजसम्म बा आमा भेटेको छैन। भेटुँ पनि कसरी? जहाँ हाम्रो घरखेत थियो त्यहाँ बुकी र पाती थियो। म हिँडेपछि आमाले गाउँकै एकजना काका पर्नेसित बिहे गरेर शहर पसिछन्,बा चाहिँ शहर पसेर बिहे गरे भन्ने सुनेको छु। म स्वार्थी भएको छु,मेरो जिन्दगीको प्रवाह नगर्ने बाउ आमा किन भेट्नु भन्ने लाग्छ। जब अफिसबाट घर फर्कन्छु छोराछोरी दौडेर काखमा आउँदा म सम्झन्छु मेरो बाल्यकाल र उडेर जाउँ जस्तो हुन्छ बा आमा खोज्न।
हो अजय,
म मा यति गहिरो असर पर्नुको कारण त्यही अलार्म थियो,जसले तीन जनाको एउटा परिवार तीन तिर बाँडिदियो।
“त्यसैले मलाई अलार्म मन पर्दैन ।”
यति भनिसकेर सुमनले आकाशतिर हेर्दै लामो स्वास फेर्छ र खसाल्छ आफ्ना नयनबाट दुई ढिक्का तातो आँसु अजयको काँधमा ।
यति ठूलो सेक्रेट आजसम्म किन लुकाइस मसङ्ग ? अजयको प्रश्न सकिन नपाउँदै एक अर्कालाइ अङ्गाल्छन् र बर्षाउँछन् भरिएका अश्रुहरु।
© रमा पाण्डे
पाणिनी -०८,अर्घाखाँची
हाल बुटवल ,रुपन्देही ।









